Hikmat Acharya
  • ३ कात्तिक २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा मृतकको नाममा भत्ता निकासा, वडाध्यक्षसहित आठ जनाविरुद्ध ७३ लाखको भ्रष्टाचार मुद्दा


धनगढी : कैलालीमा मृत्यु भइसकेका व्यक्तिहरूको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरी ७३ लाख रुपैयाँभन्दा बढी अनियमितता गरिएको आरोपमा वडाध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जानकी गाउँपालिका–९ को वडा कार्यालयले ६८३ जना लाभग्राहीको आफैं औंठाछाप प्रयोग गरी सामाजिक सुरक्षा भत्ता निकासा गरेको पाइएको हो।

यस क्रममा ७३ लाख ३७ हजार ६२७ रुपैयाँ बराबरको अनियमितता भएको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दामा वडाध्यक्ष खकेन्द्र भण्डारी, वडा सचिव प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, वडा सदस्य कल्पना खड्का, सुनकोसा सार्की, बिजय बहादुर रावल, शेरबहादुर विश्वकर्मा, र तत्कालीन खरिदार पूर्णबहादुर बिष्टलाई प्रतिवादी बनाइएको छ।

आयोगका अनुसार वडाध्यक्ष, वडा सचिव, कार्यालय सहयोगी र खरिदारको योजनामा मृतक व्यक्तिहरूको नाममा भत्ता नवीकरण गरी रकम निकासा गरिएको हो।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण अनुसार वडा सचिव बुढाले २८० वटा दाहिने बुढी औंलाको र १९९ वटा माझी औंलाको गरी ४७९ औंठाछाप आफैं लगाएको पुष्टि भएको छ।

त्यस्तै, कार्यालय सहयोगी कठरियाले पनि २०४ वटा दाहिने औंलाको औंठाछाप आफैं लगाएको देखिएको छ।

मृतक लाभग्राहीका नाममा मात्रै १५ लाख ५० हजार रुपैयाँ बराबरको भत्ता रकम निकासा गरिएको समेत अख्तियारले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode