‘जेनजी’ भन्दै धम्काउने अछामका शाही ‘बाख्राचोर’ पनि निस्किए

धनगढी– विभिन्न सरकारी कार्यालय पुगेर आफू ‘जेनजी’ भन्दै धम्क्याउने सुदूरपश्चिमको अछामका अर्जुनबहादुर शाहीसँग प्रहरीले प्रहरीको परिचयपत्र फेला पारेको छ।
प्रहरी स्रोतका अनुसार शाहीबाट कुमार शर्मा नामक प्रहरी सहायक निरीक्षक (असई)को आईडी कार्ड बरामद गरिएको हो। सो नाम परेका असई हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् र उनी इन्स्पेक्टरमा नाम निकालेर तालिममा जाने तयारीमा छन्।
शर्माले भने आफ्नो कार्ड हराएको बताएका छन्। प्रहरीले शाहीलाई बुधबार कोटेश्वरबाट पक्राउ गरेको हो।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का २६ वर्षीय शाहीले हालैका दिनमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका कार्यालय पुगेर अनुगमन र ज्ञापनपत्रको नाममा धम्की दिने कार्य गर्दै आएका थिए।
केही दिनअघि उनले नागरिक उड्डयन प्राधिकरणमा पुगेर महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग गरेका थिए।
प्रहरीले संकलन गरेको विवरणअनुसार, शाहीको परिवारसँग सम्बन्ध राम्रो छैन। उनी कक्षा ८ मा अध्ययनरत छँदा साविक कालिका गाविस–९ का तुला बहादुर शाहीको घरबाट तीनवटा बाख्रा चोरी भएको घटनामा समेत उनको संलग्नता रहेको प्रहरी अभिलेखमा उल्लेख छ।
क्याटेगोरी : पश्चिम खोज, पालिका, राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया