विवादास्पद व्यवसायी दिपक भट्ट संकटमा

काठमाडौं : बिचौलियाका रुपमा परिचित विवादास्पद व्यवसायी दिपक भट्टविरुद्ध प्रधानमन्त्री कार्यालयदेखि प्रहरी कार्यालयसम्म उजुरी परेको छ। जेन जी अलायन्सले भट्टविरुद्ध प्रधानमन्त्री कार्यालय,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरी प्रधान कार्यालयमा उजुरी दर्ता गराएको छ।
भट्टले दुई दशकयता विभिन्न राजनीतिक दलका शीर्ष नेता र सरकारमा पुग्ने व्यक्तिहरुसँग मिलेमतो गरी १० खर्ब बराबरको अपारदर्शी सम्पत्ति जोडेको उजुरीमा किटानी छ। भट्ट समूहले भ्रष्टाचारका लागि तीन सयभन्दा बढी नीतिगत निर्णय गराएको पनि अलायन्सको दावी छ।
‘भट्ट र उनको समूहले नेपालमा भ्रष्टाचार,सेटिङ र लुटपाटको यस्तो चक्रब्युह चलाएका छन्,जसका तथ्यहरु हेर्दा कहालीलाग्दो छ’, अलायन्सले भनेको छ, ‘सुरक्षा निकायको बन्दोबस्तीका सामग्री तथा हातहतियार आपूर्तिमा सेटिङ,जलस्रोत क्षेत्रमा सेटिङ,विमा तथा वित्तीय क्षेत्रमा सेटिङ, सार्वजनिक प्रशासन क्षेत्रको सेटिङलगायतमा उनै भट्ट अघि छन्।’
तत्कालीन प्रधानमन्त्री र केही मन्त्रीले समेत भट्टका निम्ति सहयोगीको भूमिका निर्वाह गरेको आरोप छ। अलायन्सका अनुसार ‘पैसा र सेटिङको बलमा सरकार निर्माण,पार्टी एकता र विभाजनसम्म भट्टको हात हुने गरेको छ, नेपालका प्रमुख दलका अध्यक्ष, शीर्ष नेता र तत्कालीन प्रधानमन्त्री तथा मन्त्रीहरु उनको सहयोगी जस्तो बनेका छन्।’
भट्टले सेटिङ र बिचौलियाको रुपमा आर्जन गरेको भनिएको १० खर्ब बराबरको सम्पति जफत गरेर तत्काल अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग छ।
‘यसबीचमा भट्टले करिब १० खर्ब बराबरको सम्पति गैरकानुनी रुपमा आर्जन गरेका छन्, उनीमाथि छानविन गरेर कारवाही नगरिएसम्म युवाहरुले खोजेको परिवर्तन र रुपान्तरण असम्भव छ’, अलायन्सको उजुरीमा लेखिएको छ।
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया