गाजाका बन्धक मुक्त गर्न इजरायल पुगे ट्रम्प, रिहा होलान् नेपाली युवा विपिन ?

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प गाजाबाट बन्धकहरूलाई मुक्त गर्न इजरायल पुगेका छन्। उनले गाजामा युद्ध अन्त्य भएको घोषणा गर्दै शान्ति प्रक्रियाको सुरुवात भएको बताएका छन्।
बीबीसीका अनुसार इजरायल प्रस्थानका बेला एयर फोर्स वनमा सवार पत्रकारहरूसँग ट्रम्पले युद्धविराम जारी रहने र गाजाका लागि “शान्ति बोर्ड” चाँडै गठन हुने जानकारी दिएका थिए।
हमासले इजरायली बन्धकहरूलाई स्थानीय समयअनुसार सोमबार दिउँसो १२ बजे (नेपाली समय दिउँसो २:४५) सम्म रिहा गर्ने समय सीमा दिएको छ।
इजरायलपछि ट्रम्प इजिप्ट पुग्ने कार्यक्रम छ, जहाँ उनी विभिन्न देशका नेताहरूसँग गाजाको अवस्थाबारे छलफल गर्नेछन्। सो बैठकमा बेलायतका प्रधानमन्त्री कियर स्टारमर पनि सहभागी छन्।
गाजाका बन्धकहरूको मुक्तिसँग नेपाल पनि प्रत्यक्षरूपमा जोडिएको छ, किनभने नेपाली नागरिक विपिन जोशी दुई वर्षदेखि हमासको बन्धनमा छन्। उनको अवस्थाबारे फरक–फरक जानकारी सार्वजनिक भइरहेका छन्।
कतिपयले उनलाई जीवित बन्धकको सूचीमा राखेका छन् भने कतिपयले अवस्था अज्ञात बताइरहेका छन्।
यो बैठकले गाजाका बन्धकहरूको मुक्तिको आशा जगाएको छ, जससँगै नेपाली युवा विपिन जोशीको पनि घर फर्कने अपेक्षा बढेको छ।
क्याटेगोरी : राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया