बाजुराका बाढी–पहिरो पीडितको चाडपर्व त्रिपालमै

बाजुरा– बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका बिच्छ्या रुगिनका बाढीपहिरोपीडितको यस पालिको दसैँतिहार त्रिपालमै हुने भएको छ। दसैँ उनीहरूले त्रिपालमै मनाएका छन् भने आउँदो तिहार पनि त्रिपालमै मनाउने भएका छन्।
गत साउन २८ गते बिच्छ्याखोलामा आएको बाढीले यहाँका झन्डै ४१ घरपरिवार विस्थापित भएका थिए। गत वर्ष यहाँका स्थानीयले आफ्नो घरमा खुसी र हर्षका साथ दसैँतिहार मनाए पनि यो वर्ष बाढीपहिरोले घर पुरिदिएपछि उनीहरूले यस पालिकाको दसैँ खुला आकाशमुनि त्रिपालमा मनाएका हुन्।
बर्सौं दिन कमाइ गरेको लाखौँ कराडौँको सम्पत्ति एक दिनमै आएको बाढीपहिरोले सबै नष्ट पारिदिएपछि यसपालिकाको दसैँ त्रिपालमै भएको हिमाली गाउँपालिका–१, बिच्छ्याका सब्बले थापाले बताए।
उनले भने, “यो बर्खामा गर्मीयाम भएका कारण केही भएन तर हिउँदमा यहाँ बस्न निकै गाह्रो हुन्छ । चिसोमा त्रिपालमा कसरी रात काट्ने चिन्ता छ।”
यहाँको स्थानीय सरकारले खाद्यान्न लुगाफाटालगायतका राहत सामग्री सहयोग गरेको छ । त्यसै गरी प्रदेश र सङ्घीय सरकारले पनि घरबासको व्यवस्था गरिदिए चिसोको बेलामा बास बस्न सहज हुने थापाले बताए।
बाढीपहिरोले हिमाली गाउँपालिका–१, बिच्छ्यामा आठ घर बगाएको र नौ घर पूर्ण जोखिममा पारेका छन् भने यहाँको वडा नं. ५ कबाडीमा पनि १६ घर बगाएको र ३२ घरमा पूर्ण क्षति भएका छन्। यहाँका सबै २४ घर विस्थापित र ४१ घर पूर्ण रूपमा क्षति गरेको थियो।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले भने, “हामीले सक्दो सहयोग गरेका छौँ, अहिले उहाँहरूलाई घरबासको समस्या छ, त्यसका लागि ठुलो रकम चाहिन्छ जुन हामीसँग छैन।”
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया