Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

रगतले ‘माखिए’को अपराध : भारतमा जेल काटेको बलबहादुरले कैलालीमा गरे हत्या


कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा भएको विभत्स हत्या घटनामा नयाँ तथ्य फेला परेको छ। भारतमा चक्कु प्रहार गरेर जेल सजाय भोगेको युवकले नेपाल फर्किएपछि पुनः हत्या गरेको खुलेको हो।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशदत्त अवस्थीका अनुसार १९ वर्षीय बलबहादुर विकले भारतको महाराष्ट्र राज्यस्थित रत्नागिरीमा भारतीय नागरिकमाथि चक्कु प्रहार गरेको अभियोगमा दुई वर्ष जेल सजाय भोगेका थिए।

करिब पाँचरछ महिनाअघि मात्रै नेपाल फर्किएका उनले घोडाघोडीका २८ वर्षीय केशरबहादुर बुढाको घाँटी रेटी हत्या गरेका हुन्। बलबहादुरसँगै १९ वर्षीय गङ्गा बुढा पनि घटनामा संलग्न रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

‘हत्या आरोपमा पक्राउ परेका मध्ये एक जना भारतमा पनि यस्तै अपराधमा संलग्न भई जेल भुक्तान गरेका थिए,’ डिएसपी अवस्थीले भने, ‘दुवै जनाले मदिरा सेवनपछि विवाद हुँदा हत्या गरेको स्वीकार गरेका छन्।’

प्रहरीका अनुसार हत्या गरेपछि उनीहरू मृतकको टाउको बोकेर प्रहरी चौकीतर्फ आएका थिए। ‘प्रहरी टोली नियमित गस्तीमा थियो, उनीहरूले आफूहरूले हत्या गरेको भन्दै टाउको देखाएपछि नियन्त्रणमा लिइएका हुन्,’ डिएसपी अवस्थीले बताए।

प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूबीच दोहोरो चिनजान थिएन। मदिरा सेवनपछि पसल बन्द भएपछि घर फर्कँदै गर्दा विवाद भएको र सोही क्रममा मृतकलाई नालामा फालेर एक जना घर गएर धारिलो हतियार ल्याई घाँटी रेटेको खुलेको छ।

हत्या पछि उनीहरू प्रतिखेतस्थित आफ्नी दिदीको घर पुगेका थिए। दिदीले आमालाई फोन गरी घटनाबारे जानकारी गराउँदा आमाले ‘घर नआउनू’ भनेपछि उनीहरू प्रहरी चौकीतर्फ हिँडेका थिए। त्यस क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

मृतकका श्रीमती र सन्तान घोडाघोडीमै बस्दै आएका छन् भने उनका आमाबुबा सुर्खेत चौकुने गाउँपालिका–३ मा बस्दै आएका छन्।

प्रहरीले आफन्तहरू कैलाली पुगिसकेकाले जाहेरी दर्ता गरेर म्याद थप प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ। डिएसपी अवस्थीका अनुसार, ‘अभियुक्तहरूको आपराधिक पृष्ठभूमि समेत झिकाएर थप अनुसन्धान भइरहेको छ।

र, यो पनि :

कैलालीमा साथीको घाँटी रेटे, टाउको बोकेर दुई युवा पुगे प्रहरीसमक्ष


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode