Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

सूचना नदिएपछि बैतडीको सूर्नयामा तालाबन्दी


बैतडी : सूचना माग गर्दा नदिएपछि युवाहरूको समूहले गाउँपालिकामा तालाबन्दी गरेको छ।

जिल्लाको सूर्नया गाउँपालिकाका युवाहरूले गत जेठ महिनामै सूचनाको हक प्रयोग गरी दुई पटक निवेदन दिँदा पनि सूचना नदिएको भन्दै तालाबन्दी गरेको बताएका छन्.

युवाहरूले तालाबन्दी गरेपछि गाउँपालिकाले शुक्रबार आयोजना गर्न लागेको सार्वजनिक सुनुवाई स्थगित भएको छ। गाउँपालिकाले सूचना नदिएसम्म सार्वजनिक सुनुवाई गर्न नदिने भन्दै युवाहरूले सो कार्यक्रम रोकेका छन्।

गाउँपालिकाले गएको दुई वर्षदेखि सार्वजनिक सुनुवाईसमेत नगरेको युवाहरूले आरोप लगाएका छन्। गाउँपालिकाले माग गरे अनुसारको सूचना नदिएपछि तालाबन्दी गरिएको जेनजी समूह सूर्नयाका अगुवा विशाल भट्टले बताए।

उनले गाउँपालिकाभित्र सञ्चालित योजना, बजेट, कार्यपालिकाका निर्णय र कार्यक्रमको पारदर्शी विवरण माग गर्दा सूचना नै नदिएपछि तालाबन्दी गरिएको बताए।

गाउँपालिकाले नागरिकलाई सूचना नै नदिएको स्थानीय नागरिक अगुवा देवबहादुर चन्दले बताए।

उनले युवाहरूको आन्दोलनमा आफ्नो पनि समर्थन रहेकाले तालाबन्दीमा सहभागी भएको बताए। युवाहरूको आन्दोलन र तालाबन्दीले गाउँपालिकाको सार्वजनिक सुनुवाई स्थगित भएको गाउँपालिका अध्यक्ष अम्मर कुँवरले बताए।

उनले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखाका कर्मचारी गाउँपालिका बाहिर भएकाले सूचना दिन नसकिएको बताए।

उनले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुने बित्तिकै युवाहरूले मागेका सूचना दिन सकिने बताए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode