कैलालीमा युवकको घाँटी रेट्ने एक आरोपी भारतमा पनि परेका थिए जेल

कैलाली–शनिवार कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ जरैमा सुर्खेतका २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको हो।
बुढाको हत्या स्थानीय १९ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीले गरेको प्रहरीले जनाएको छ। दुबै जना अभियुक्तलाई प्रहरी पक्राउ गरिसकेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डिएसपी राजकुमार सिंहले दुबै जना युवकलाई सुखड प्रहरीले पक्राउ गरेको बताए। दुबै जना अभियुक्त घाँटी रेटिएका युवकको टाउको लिएर प्रहरी कार्यालय आउने क्रममा पक्राउ परेका हुन्।
मदिरा सेवन गरेर विवाद भएपछि बुढाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। मृतकका आमबुवा सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ३ मा बस्दै आएका छन् भने श्रीमती र सन्तानसँगै मृतक बुढा घोडाघोडीमै बस्दै आएका थिए।
हत्यामा संलग्न बलबहादुर भारतमा जेल बसेको तथ्य फेला
केशरसिंह बुढाको हत्या भएको जरै गाउँ जङ्गल किनारमा छ।
त्यहाँ मृतक केशरबहादुरको भेट हत्या आरोपित बलबहादुर बिक र गङ्गा बुढा क्षेत्रीसँग हुन्छ। सुरूमा तीनै जनाले मदिरा सेवन गर्छन्। पसल बन्द भएपछि घर जाने कुरा हुन्छ। हत्यामा संलग्न भनिएका बिक र बुढा क्षेत्रीले मृतक केशरसिंहलाई रक्सी लागेको भन्दै घर पुगाइदिने भन्छन्।
तर मृतकले मदिरा नलागेको भन्दै विवाद गरेको दुबै अभियुक्तले बताएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकले विवाद गर्न थालेपछि दुबै मिलेर मृतकलाई नालामा लडाउन पुग्छन्।
प्रहरीका अनुसार त्यसपछि एक जना घर गएर धारिलो हतियार ल्याउँछन् र दुबै मिलेर केशरसिंहको हत्या गर्छन्।
प्रहरी अनुसन्धानबाट बलबहादुर बिकले भारतमा जेल सजाय पाएको खुलेको छ। भारतको रत्नागिरीमा भारतीय नागरिकलाई चक्कु प्रहार गरेको अभियोगमा बलबहादुर दुई वर्ष जेल सजाय भोगी पाँच महिना अगाडि मात्रै नेपाल फर्किएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी रमेश अवस्थीले बताए।
यस्तै अर्का अभियुक्त गङ्गा बुढा क्षेत्री पनि दसैँका लागि भारतबाट नेपाल फर्किएको प्रहरीले जनाएको छ।
क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया