सुदूरपश्चिमका चारसहित १८ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

धनगढी : नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले लामो समयदेखि सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीलाई कार्यस्थलमा हाजिर हुन सात दिनको अन्तिम समय दिएको छ।
सम्पर्कविहीन १८ जना प्रहरीमध्ये सुदूरपश्चिमको बैतडी, कञ्चनपुर र दार्चुला घर भएका चार जना रहेका छन्।
मंगलबार कानुन शाखामार्फत सार्वजनिक सूचनामा ती प्रहरी कर्मचारीहरूलाई तुरुन्तै आफ्नो कार्यक्षेत्रमा हाजिर भई गैरहाजिरीको कारणसहित सन्तोषजनक स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।
सूचनामा भनिएको छ, “आफूखुसी कार्यालयमा गैरहाजिर रही खोजतलास गर्दा समेत सम्पर्कमा नआएको र प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११५ को उपनियम (२) अनुसार प्रक्रिया पूरा गरी सूचना टाँस गरिसक्दा पनि हाजिर नभएकाले यो सूचना प्रकाशित गरिएको हो।”
प्रहरी प्रधान कार्यालयले सूचना सार्वजनिक भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर नभए प्रहरी नियमावलीअनुसार अनुशासनात्मक कारबाही अघि बढाइने र सेवाबाट हटाउने प्रक्रिया सुरु गरिने चेतावनीसमेत दिएको छ।
सम्पर्कविहीन प्रहरीहरूको विवरण सार्वजनिक नगरिएको भए पनि सुदूरपश्चिमका जिल्लाहरूबाट समेत प्रहरीहरू सम्पर्कविहीन भएकोमा सरोकारवाला चिन्तित बनेका छन्।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया