आमाबुवाबारे सोच्नुस् भन्दै प्रहरीमाथि झोक्किने यमबहादुरले गरे आफ्नै आमाको विभत्स हत्या

काठमाडौं– जेन्जी आन्दोलनमा आमाबुवाको बारेमा त सोच्नुस् भन्दै प्रहरीसंग झोक्निे एक जनाले आफ्नै आमाको विभत्स हत्या गरेका छन् ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ को थापाकटेरीमा ३० वर्षीय यमबहादुर कँडेलले आफ्नै ५५ वर्षीया आमा राममायाको विभत्स हत्या गरेका हुन् ।
आइतबार (१९ असोज) राति साढे ८ बजेतिर मादक पदार्थ र लागूऔषध सेवन गरेका यमबहादुरले धारिलो हतियार प्रहार गरेर आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी सल्यानकोटले यमबहादुरलाई गएराति नै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
यमबहादुर यसअघि पनि पटकपटक विभिन्न मुद्दामा पक्राउ पर्दै आएका व्यक्ति हुन् । उनी गुण्डा नाइके दिनेश अधिकारी ग्याङमा संलग्न भएर काम गर्दै आएको पनि अनुसन्धानका क्रममा खुलेको छ ।
यसरी घट्यो घटना
काठमाडौं बस्दै आएका यमबहादुर दशैं मनाउन फूलापातीको अघिल्लो दिन मात्रै गाउँ पुगेका थिए । उनी दुव्र्यसनमा फसेका व्यक्ति हुन् ।
आइतबार राति ८ बजेतिर उनले गाउँघरतिर पाइनेभन्दा फरक खालको हतियार बोकेर घर प्रवेश गरेका थिए ।
घरमा भान्जाभान्जी, बुवा, आमा र यमबहादुरसहित पाँच जना थिए । उनले सुरुमा भान्जालाई खुकुरी प्रहारको प्रयास गरे ।
भान्जा भागेपछि बुवालाई पनि प्रहार गर्न खोजेका थिए । यबमबहादुरका बुवा पनि भागेपछि उनले आमालाई प्रहार गरेका थिए ।
आमाको टाउको र शरीर छुट्टिनेगरी उनले विभत्स हत्या गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।
हत्या गरेपछि आँगनमा शव राखेर उनले बुवालाई पनि धम्क्याए ।
आफ्नो बुवाको काँधमा खुकुरी राखेर आफूले ठिक गरेको भन्दै घटना लुकाउन यमबहादुरले धम्की दिइरहेको प्रत्यक्षदर्शिहरुले बताएका छन् ।
यमबहादुरलाई सुधारगृहमा लग्नका लागि बुवा गोपबहादुर कँडेल लगायतले पटकपटक भन्दै आएका थिए ।
प्रत्यक्षदर्शीका अनुसार यसपटक पनि घरमा उनलाई सुधार गृह पठाउने कुरा चलेको रहेछ । तर यमबहादुरले मानेका रहेनछन् । परिवार नै आफूलाई सुधार गृह पठाउने षड्यन्त्रमा लागेको शंका मानेर उसले हत्या गरेको हुनसक्ने अनु्मान गरिएको छ ।
भान्जाले पु¥याए गाउँमा खबर’
खुकुरी प्रहारबाट उम्किएर भागेका यमबहादुरका भान्जाले गाउँमा खबर पु¥याएका थिए । उनले खबर लगेपछि स्थानीय जनप्रतिनिधिले प्रहरीमा खबर गरेका थिए ।
‘भान्जाले गाउँमा आएर भनेपछि मात्रै हामीले थाहा पायौं,’ एक जनप्रतिनिधिले भने, ‘यसअघि पनि पटकपटक यस्ता गतिविधि देखेका थियौं । हामी एक्लै जान डराएर प्रहरीसहित पुगेर हेर्दा त्यस्तो घटना देख्यौं ।’
प्रहरीसहितको टोली पुग्दा पनि उनी घटनास्थलमै थिए । प्रहरी पुगेपछि पनि उनले ‘अघि बढ्ने भए बुवालाई पनि मारिदिन्छु’ भन्दै धम्की दिएका थिए ।
सो क्रममा प्रहरीले उनलाई बल प्रयोग गरेर नियन्त्रणमा लिनुपरेको थियो ।
‘जेनजी आन्दोलनमा प्रहरीसँगै झोक्किएका थिए’
गत २४ भदौको जेनजी आन्दोलनमा यमबहादुरले प्रहरीसँग झोक्किँदै भनाभन गरेका थिए ।
उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रहरीसँग प्रतिवादमा उत्रिएका उनले आफूलाई गोली हान्नसमेत चेतावनी दिएका थिए ।
‘ठोक्ने भए गोली ठोक्नू । मार्ने भए मार्नू आनन्द त आउँछ । देशको बारेमा सोच्नै परेन । मेरो आत्मा भगवानले लानुहुन्छ । देशको चिन्ता र तपाईंको आत्माले गर्दा अहिले पनि सुत्नै सक्दिनँ,’ उनले प्रहरीलाई भनेका थिए ।
साथै, उनले प्रहरीसँग रिसाउँदै आफ्ना आमाबुवा र देशको बारेमा सोच्न पनि भनेका थिए ।
‘म वान म्यान आर्मी हो । भारतीय र अमेरिकी पुँजीवाद दलाल र यो देशका दलालसँग एक्लै लड्न सक्ने क्यापासिटी छ,’ उनले भनेका थिए, ‘त्यसैले तपाइँहरू पनि बेलैमा जनताका लागि सोच्नुस् । तपाइँहरूको आफ्ना आमाबुवा र देशको बारेमा सोच्नुस् ।’
उनको उक्त भिडियो सञ्जालमा धेरै हेरिएको थियो । तर उनले गएराति आफूलाई जन्म दिने आमाकै विभत्स हत्या गरेका छन् ।
विगतका मुद्दा
उनीविरुद्ध यसअघि पनि प्रहरीमा विभिन्न मुद्दा चलेको अनुसन्धानका क्रममा देखिएको छ । प्रहरीको सीडीआर रिपोर्ट हेर्दा २०६९ सालमा उनीविरुद्ध सार्वजनिक मुद्दा चलेको देखिन्छ ।
‘अन्य प्रहरीमा पनि उनीविरुद्ध मुद्दा छन् भन्ने आएको छ । डाटा नभेटिएको हुनसक्छ, काठमाडौंको स्वयम्भू, हनुमानढोकामा पनि छ भनेर बुझ्दैछौं,’ अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।
ती प्रहरी अधिकारीका अुनसार, यस्ता खालका विभत्स हत्या भएका घटनाहरू यसअघि कमै भेटिएका छन् ।
‘मैले अहिलेसम्म यस्ता खालका घटनाहरू एकदमै कम देखेको छु । यस्ता विभत्स घटना कमै मात्र घट्छन्,’ अनुसन्धानमा खटिएका ती प्रहरी अधिकारी भन्छन् । उनलाई अहिले प्रहरीले हिरासतमा राखेको छ ।
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया