अबको पालो टी-२० विश्वकप छनोट

धनगढी : युएईमा पाएको सफलतासँगै उच्च मनोबलमा रहेको नेपाली टोली आईसीसी टी-२० विश्वकप एसिया/प्रशान्त छनोट खेल्न त्यहिबाट बुधबारनै ओमान प्रस्थान गरिसकेको छ ।
ओमानमा ८ अक्टोबरदेखि १७ अक्टोबरसम्म चल्ने प्रतियोगितामा नेपालको एकमात्र लक्ष्य उपाधि जित्दै विश्वकपमा छनोट हुने रहेको छ ।
यसअघि सन् २०१४ र २०२४ मा टी-२० विश्वकप खेलिसकेको नेपाल तेस्रोपटक विश्वकपमा छनोट हुने लक्ष्यमा रहेको छ । नेपालले विश्वकप छनोटकै तयारी स्वरूप वेस्ट इन्डिजसँग टी-२० आई सिरिज खेलेको थियो । यसअघि नेपालले गत महिना अष्ट्रेलियामा टप एण्ड टी-२० सिरिज खेलेको थियो ।
उक्त सिरिजमा नेपालले ६ खेल खेल्दा दुई जित र चार हारको नतिजा निकालेको थियो । अष्ट्रेलिया भ्रमणको क्रममा नेपालले त्यहाँको स्थानीय क्लबहरुसँग पनि खेल खेलेको थियो ।
पछिल्लो केहि महिनादेखि विश्वकपको तयारी गरेको नेपाली टोलीको मनोबल उच्च रहेको छ । ओमानमा हुने विश्वकप छनोटमा ९ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
छनोटमा आयोजक ओमानसँगै, पपुवा न्युगिनी, मलेसिया, कतार, युएई, जापान, कुवेत र सामोआले आफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् । छनोटमा सहभागी ९ टोलीलाई तीन/तीन टोलीको तीन समूहमा विभाजन गरिएको छ ।
तीन समूहको शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन् ।
यस्तै सिंगल राउण्ड रोबिन आधारमा हुने सुपर सिक्सको शीर्ष तीन स्थानमा रहने टोलीले आगामी वर्ष भारत र श्रीलंका हुने टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।
समूह ‘बी’मा रहेको नेपालले पहिलो खेल ८ अक्टोबरमा कुवेतसँग खेल्नेछ भने दोस्रो खेल जापानसँग खेल्नेछ ।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया