बैतडीका प्रशिद्ध शक्तिपीठहरुमा महाअष्टमी मेला सुरु

बैतडी- बैतडीका विभिन्न प्रसिद्ध शक्तिपीठमा आज अष्टमी मेला सुरु भएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिर, पाटन नगरपालिका पाटनमा रहेको उदयदेव मन्दिर, मेलौली नगरपालिका देहीमा रहेको भगवती मन्दिर, शिवनाथ गाउंपालिका कफाडीमा रहेको उदयदेव लगायतका विभिन्न प्रसिद्ध शक्तिपीठ मन्दिरमा आजदेखि महाअष्टमि जात्रा सुरु भएको हो ।
घटस्थापनाका दिनदेखि नित्य पूजापाठ हुँदै आएको मन्दिरमा सप्तमी र महाष्टमीका मेला लाग्ने गर्छ।
यी शक्तिपिठ मन्दिरमा सप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन राँगाको बलि दिने प्रचलन रही आएको छ । हरेक बर्ष शरदीय नवरात्रको सप्तमीको राति र महाष्टमीको दिन यी मन्दिरहरुमा ठूलो जात्रा लाग्ने गर्दछ ।
निङ्गलाशैनी भगवतीको दर्शन गर्न र जाँत हेर्न दर्शनार्थीहरु मन्दिरमा पुगिसकेका छन्। सीमावर्ती भारतीय क्षेत्रबाट समेत दर्शनार्थीहरु आउने गर्छन्।
निङ्गलाशैनी भगवती मन्दिरमा लागेको जात्रालाई व्यवस्थित बनाउन मेला व्यवस्थापन समितिले स्वयंसेवक खटाएको छ भने स्थानीय प्रशासनले पनि मेला सुरक्षा अन्तर्गत सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया