सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीमाथि कडाइ, विवादितलाई जिम्मेवारीमुक्त

धनगढी: सुदूरपश्चिम प्रदेशमा अपराध अनुसन्धान र सूचना संकलनका नाममा सादा पोशाकमा खटाइएका प्रहरीमाथि कारबाही प्रक्रियामा कडाइ भएको छ।
प्रदेशभर विवादमा आएका घुमुवालाई प्रदेश प्रहरी कार्यालयमै झिकाएर अनुसन्धान र कारबाही अगाडि बढाइएको हो। हालै बझाङमा कार्यरत प्रहरी जवान संजय थापा र भुवन खड्कालाई विवादित घटनामा संलग्न देखिएपछि प्रदेश प्रहरी कार्यालयले तानेर छानबिन अघि बढाएको छ।
दुवैको भिडियो सार्वजनिक भएपछि कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी खगेन्द्र धमलाले पुष्टि गरेका छन्। यसअघि भारतमा पैँसा चोरी प्रकरणमा विवाद भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले सई गजेन्द्र चन्द नेतृत्वको पुरै सादा पोशाकमा खटिएको टोली नै हटाएको छ।
उनीहरू सबैलाई जिम्मेवारीबाट हटाएको जनाइएको छ। यसैक्रममा वडा प्रहरी कार्यालय धनगढीका जवान जय धामीलाई पनि जिम्मेवारीमुक्त गरिएको छ। उनलाई जिल्ला तानिएको बताइएको छ।
कैलाली प्रहरीमा विशेषगरी सादा पोशाकका घुमुवा गैरव्यवसायिक हुँदै गएको आरोप लाग्दै आएको छ। अहिले पनि नयाँ नेतृत्वको लागि हानथाप भैरहेको प्रहरी वृतमा चर्चा छ। यसबाहेक अन्य प्रहरी अधिकृतको पनि उजुरीहरु छानबिन भैरहेको सुदूरपश्चिम प्रदेशका डीआईजी डम्बरबहादुर विश्वकर्माले जानकारी दिए।
उनका अनुसार लामो समयदेखि सादा पोशाकमा खटिएका र विवादीत छविका प्रहरीलाई कारबाही गर्ने काम अघि बढाएको हो। सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीलाई लिएर पटक–पटक विवाद उठ्दै आएको छ।
व्यक्तिगत आचारण, बेथिती र शक्ति प्रयोगका कारण उनीहरु निरन्तर निगरानीमा पर्ने गरेका छन्।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया