बैतडीमा इभी दुर्घटना, १० जना घाइते

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा दश जना घाइते भएका छन्।
धनगढीबाट बैतडीको पुर्चौंडीतर्फ गइरहेको सु.प.प्र.०२००१ ज ६२० नम्बरको जिप शनिबार दिउँसो ३ बजेतिर जयपृथ्वी राजमार्ग अन्तर्गत भञ्ज्याङमा दुर्घटना भएको हो।
जिपमा चालकसहित १९ जना सवार रहेकोमा ८ सकुशल रहेका छन् भने १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए।
घाइते मध्ये ६ जनाको अवस्था सामान्य र ४ जनाको अवस्था मध्यम रहेको उनले बताए। घाइते हुनेमा पुर्चौंडी नगरपालिका–५ का १५ बर्षीय भुवन साउँद, २८ बर्षीया यशोदा साउँद, ५ बर्षीय कोबित पन्त, २८ बर्षीया पवित्रा पन्त,१९ बर्षीय नरेश बोहरा २८ बर्षीया वसन्ती अवस्थी र १७ बर्षीय विकास साउँद रहेका छन्।
यस्तै पुर्चौंडी नगरपालिका –४ का १९ बर्षीया कमला धानुक, सोही ठाउँका २२ बर्षीय प्रकाश धानुक र पुर्चौंडी –३ की २२ बर्षीया सावित्री धामी पनि घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरी निरीक्षक बडूले बताए। इभी चालक पुर्चौंडी नगरपालिका–५ का महेश बोहरा फरार रहेका र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
इभी सडकबाट करीब २५ मिटर तल खसेको बताइएको छ। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया