बाजुराको खप्तड छेडेदहलाई काठमाडौं महानगरपालिकाले दियो एम्बुलेन्स

बाजुरा : बाजुराको खप्तड छेडेदह गाउँपालिकाले काठमाडौँ महानगरपालिकाबाट एम्बुलेन्स प्राप्त गरेको छ।
स्वास्थ्य सुविधाको पहुँच अभाव झेलिरहेका दुर्गम बस्तीलाई प्राथमिकतामा राख्दै महानगरपालिकाले उक्त सहयोग उपलब्ध गराएको हो।
यसअघि २०८० मङ्सिरमा महानगरपालिकाले खप्तड छेडेदहसहित देशका विभिन्न दुर्गम गाउँपालिकालाई राजस्व छुटको व्यवस्था मिलाई एम्बुलेन्स वितरण गर्ने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार पहिलो चरणमै ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो।
शुक्रबार एक विशेष कार्यक्रममार्फत काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतलाई हस्तान्तरण गरेको हो।
यससँगै गाउँपालिकामा अब दुईवटा एम्बुलेन्स सञ्चालनमा आउने भएका छन्।
यसअघि २०८२ जेठ ३२ गते गाउँपालिकाले भारतीय दूतावासबाट उपहारस्वरूप अर्को एम्बुलेन्स पाएको थियो। गाउँपालिका अध्यक्ष रावतका अनुसार पालिकाले तोकिएको कार्यविधिअनुसार सहज र सुलभ सेवा उपलब्ध गराइनेछ।
मार्तडी सदरमुकाम, बयालपाटा अस्पताल अछाम लगायत विभिन्न स्थानसम्मका लागि भाडादर तोकिएको छ भने गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, विपन्न, विपद् तथा दुर्घटनामा परेकालाई पालिकाभित्र निःशुल्क सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया