फरार बन्दी खोजी गर्न कार्यदल, असोज २० भित्र नफर्किए कारबाही

काठमाडौँ: कारागार व्यवस्थापन विभागले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदीबन्दीलाई असोज २० भित्र कारागार फर्किन आग्रह गरेको छ।
गृह मन्त्रालय, सुरक्षा निकाय एवं सरोकारवालाको साथ सहयोग र समन्वयमा कैदी बन्दीलाई फिर्ता ल्याउने काम भइरहेको उल्लेख गर्दै विभागले ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’समेत गठन भएको स्पष्ट पारेको छ।
अझै पनि उल्लेख्य संख्यामा कैदीबन्दी कारागार बाहिर रहेको स्पष्ट पार्दै विभागले तोकिएको समयभित्र कारागार नफर्किनेका हकमा प्रचलित कानून बमोजिम कारबाही हुने निर्देशक एवं प्रवक्ता चोमेन्द्र न्यौपानेले जानकारी दिए।
गृहमन्त्रीस्तरीय निर्णय बमोजिम भागेका कैदीबन्दीको जानकारी उपलब्ध गराउन सम्बद्ध सबैलाई विभागले आग्रह गरेको छ। फरार अवस्थामा रहेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिसमेतलाई कसुरदार ठानी प्रचलित कानून बमोजिम कारबाही हुने भएकाले आवश्यक सहयोगका लागि विभागले अनुरोध गरेको छ।
फर्किन बाँकी रहेका कैदीबन्दीको अद्यावधिक विवरण जिल्लाबाट नियमित रूपमा प्राप्त गरी सम्बन्धित माथिल्लो निकायमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
कैदीबन्दीको खोजीका लागि जिल्लाका जनप्रतिनिधिलगायत आवश्यक अन्य निकायसँग बैठक छलफल गर्न, अन्तर समन्वय कायम गर्न र आवश्यक देखिएकामा अन्य संयन्त्रको प्रयोग गर्नुपर्ने कार्यादेश तय भएको छ।
सार्वजनिक सेवा प्रवाह गर्ने निकायलाई फर्किन बाँकी कैदीबन्दीको विवरण उपलब्ध गराइ खोजी कार्यलाई प्रभावकारी बनाइने विभागले जनाएको छ।
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया