परदेशी घर फर्किएपछि अछामका बजारदेखि गाउँसम्म बढ्यो रौनक

अछाम : दसैं नजिकिँदै गर्दा अछामका गाउँमा भारततिर कमाइ गर्न गएका युवाहरू फर्किन थालेका छन।
वर्षभरि दिल्ली, मुम्बई, लखनउ, देहरादुन, चण्डीगढ, सिमला, मनालीदेखि पन्जाब र हरियाणासम्म पसिना बगाउने उनीहरू दसैंमा भने परिवारसँगै समय बिताउन घर फर्किन्छन्।
कोही निर्माण मजदुरी, कोही होटल–रेस्टुराँमा काम, कोही सुरक्षा गार्ड वा खेतबारीमा श्रम गरेर जीविका चलाउँछन्। तर, यही कमाइले चाडपर्वमा घरआँगन उज्यालो बनाउँछ।
सिमलाबाट फर्केका कमलबजार–३ का २६ वर्षीय युवराज विष्ट भन्छन्, ‘वर्षभरि भारतमा दुःख भए पनि दसैंमा घर आउँदा सबै बिर्सिन्छु।’
ढकारी–७ का भरत नेपाली सात वर्षपछि दसैं मनाउन फर्किएका छन्। उनीसँगै गाउँका ६० भन्दा बढी युवा घर आएका छन्, जसले सुनसान गाउँ चहलपहलमय बनेको छ।
दसैं नजिकिँदा बजारमा किनमेल, बाटोमा यात्रुको भीड र गाउँघरमा भेटघाटले उत्सवको माहोल बनाएको छ।
दसैं नजिकिँदै गर्दा मंगलसेन, साँफेबगरदेखि बयलपाटा, कमलबजारदेखि पञ्चदेवल, मुजाबगरसम्मका बजारमा यात्रुको चहलपहल बढिरहेको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया