Hikmat Acharya
  • २८ असोज २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

डडेल्धुरामा सम्झनलायक बन्यो डिएसपी सुगन्ध श्रेष्ठको एक वर्षे कार्यकाल, केके गरे काम ?


डडेल्धुरा: जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले आफ्नो कार्यकालमा भएका कामहरू सार्वजनिक गरेका छन्। शनिवार कार्यालयमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गरेका हुन्।

प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार श्रेष्ठको कर्णाली प्रदेश प्रहरी कार्यालय, अन्वेषण योजना शाखा सुर्खेत सरुवा भएको छ। उनले गतवर्षको असोज १६ गतेदेखि डडेल्धुरा प्रहरीको कमाण्ड सम्हालेका थिए। पत्रकार सम्मेलनमा डीएसपी श्रेष्ठले अपराध नियन्त्रणदेखि सामुदायिक प्रहरी अवधारणासम्मका गतिविधि प्रस्तुत गरेका थिए।

गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला प्रहरी कार्यालयले १९० मुद्दा दर्ता गरेको थियो। तीमध्ये ११८ फछ्र्यौटभएका थिए भने ९० मुद्दा बाँकी रहेका छन्। चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म मात्र ३७ मुद्दा दर्ता भएका छन्। जसमा १४ फछ्र्यौट भइसकेका छन्। लागूऔषध नियन्त्रणमा गत वर्ष ११ मुद्दा दर्ता भई १५ जना पक्राउ परेका थिए।

यस वर्ष हालसम्म २ मुद्दा दर्ता भई ४ जना पक्राउ परेको डीएसपी श्रेष्ठले बताए। फरार प्रतिवादी पक्राउ अभियानमा पनि उल्लेख्य उपलब्धि हासिल भएको उनले जानकारी दिए। गत वर्ष १८६ मध्ये ९४ जना फरार पक्राउ गरी ५२ वर्षभन्दा बढी कैद सजाय र करिब ४७ लाख रुपैयाँ जरिवाना कार्यान्वयन भएको थियो।

चालु वर्षमा भने २९ जना फरार पक्राउ गरी ३ वर्षभन्दा बढी कैद सजाय कार्यान्वयन भएको छ। यस उपलब्धिका कारण जिल्ला अदालत डडेल्धुराले प्रहरी कार्यालयलाई सम्मानसमेत गरेको थियो। श्रेष्ठको कार्यकालमा डडेल्धुराका केही चर्चित अपराध प्रकरण सुल्झिएका छन्।

अमरगढी–७ की आरती भट्टराई हत्या, गन्यापधुराकी खिमादेवी भुल हत्या, अमरगढी–३ की अस्मिता थापा मगर हत्या र शीर्ष साना किसान कृषि सहकारी संस्थामा भएको चोरी घटनाको अनुसन्धान उनको नेतृत्वमै सम्पन्न भएको हो। अपराध नियन्त्रणसँगै उनले सामुदायिक प्रहरी अवधारणामा पनि जोड दिएका थिए।

१,१४८ वटा सामुदायिक कार्यक्रममार्फत करिब २४ हजार नागरिक प्रत्यक्ष लाभान्वित भएको डीएसपी श्रेष्ठको दाबी छ। पीडित परिवारसँग पुनः सम्पर्क, वित्तीय साक्षरता, विद्यार्थी–प्रहरी भेटघाट, थुनुवासँग परामर्श सेवा, सडक सुरक्षा तालिम र अरिङ्गाल जोखिम न्यूनीकरणजस्ता गतिविधि सञ्चालन गरिएको थियो।

चालु वर्षमा तुफानडाँडामा जोर–विजोर पार्किङ प्रणाली, सेवाग्राही प्रतिक्षालय, नयाँ प्रहरी पोष्ट स्थापना, अभिभावक–प्रहरी भेटघाट तथा सचेतनामूलक होर्डिङ बोर्ड जस्ता कार्यक्रमलाई पनि उनले आफ्नो कार्यकालको उपलब्धि मानेका छन्। डडेल्धुराको एक वर्षे बसाइँमा सल्लाह सुझाव र सहयोग गर्ने सबै सञ्चारकर्मीलाई धन्याव दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले डीएसपी श्रेष्ठको एकवर्षे कार्यकाल उत्कृष्ट नै रहेको बताए।

उनले जिल्लामा शान्तिसुरक्षा कामय गर्न र समन्वयकारी भूमिका उत्कृष्ट रहेको भन्दै श्रेष्ठको प्रशंसा गरे। डडेल्धुराको नयाँ डीएसपीको रूपमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट डीएसपी वरुणबहादुर सिंह आउँदैछन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode