दसैँ नजिकिएसँगै काठमाडौँ–धनगढी हवाई भाडा आकासियो

धनगढी : दसैँ नजिकिएसँगै काठमाडौँ–धनगढी हवाई भाडा एक्कासि बढेको छ। सामान्य अवस्थामा साढे सात हजार रुपियाँ टिकट रहँदै आएकोमा चाडपर्वका बेलामा विमान कम्पनीले भाडा बढाएका छन्।
चाडपर्व नजिकिँदा ओहोरदोहोर गर्ने यात्रुको चाप बढेपछि १२ हजार रुपियाँभन्दा कममा टिकट पाइनै छाडेको यात्रुले गुनासो गरेका छन्। उनीहरूका अनुसार विमान कम्पनीले १६ हजार रुपियाँसम्मका टिकट बिक्री गर्न थालेका छन्।
विमान कम्पनीले चाडपर्वको मौका छोपेर मनपरी गर्न थालेको धनगढीका खगेन्द्र साउदले बताए।
अरूबेला साढे सात हजारमा यात्रु उडाउने विमान कम्पनीले चाडपर्वको बेला भाडा बढाउँदा पनि नियमन गर्ने निकाय मौन रहेको उनको गुनासो छ।
धनगढी विमानस्थल कार्यालयका अनुसार अचेल काठमाडौँ–धनगढी दैनिक आठ वटा उडान भइरहेको छ। छ उडान श्री एयरलाइन्सले र दुई वटा उडान बुद्ध एयरले गरिरहेको विमानस्थल प्रमुख बालकुमार सिंहले बताए।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया