काठमाडौं महानगरले भोलिदेखि एम्बुलेन्स बाँड्दै

काठमाडौं : काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई भोलि सोमबारदेखि एम्बुलेन्स वितरण गर्ने भएको छ। मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन्।
विगत १ वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्य सोमबारदेखि सुरु हुने जानकारी उनले गराएका हुन्। पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने महानगरले जनाएको छ।
एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको मेयर साहले बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी विश्वास गर्छौं स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो। देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो। यो मात्र सुरुवात हो, कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो।’
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया