Hikmat Acharya
  • ४ असोज २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिममा सञ्चालनमा आउन सकेनन् प्रादेशिक कार्यालय


धनगढी : सुदूरपश्चिम प्रदेशको प्रादेशिक संरचनाको कामकाज डेढ हप्तादेखि ठप्प रहेको छ।

जेनजी आन्दोलनको क्रममा मन्त्रालय, कार्यालयमा अत्यधिक क्षति भएपछि प्रादेशिक संरचनाअन्तर्गतका धेरैजसो अड्डाका कामकाज ठप्प रहेको हो।

आन्दोलनकारीले प्रदेश सभा भवन, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय लगायतका मन्त्रालय र मातहतका विभिन्न कार्यालयमा तोडफोड र आगजनी गरेका थिए।

आन्दोेलनकारीबाट गरिएको क्षतिका कारण ठुलो नोक्सान भएपछि मन्त्रालय र कार्यालयहरू सञ्चालन हुन सकेका छैनन्।

आन्दोलनकारीको आगजनीले भौतिक संरचना तहस नहस भएकाले तत्काल कामकाज थाल्न सम्भव नरहेको प्रदेश सभामुख भीमबहादुर भण्डारीले बताए। उनले पुनर्निर्माणपछि मात्रै प्रदेश सभाको बैठक बस्ने गरी कामकाज हुने बताए।

‘प्रदेश सभाको पूरै संरचना ध्वस्त छ। पुनर्निर्माण नभएसम्म प्रदेश सभाको बैठक बस्दैन,’ उनले भने।

प्रदेश सभामा अत्यधिक क्षति भएका कारण पुनर्निर्माण गर्न पनि धेरै दिन लाग्न सक्ने जनाइएको छ। प्रदेश सरकारले सकेसम्म चाँडै प्रादेशिक संरचना सञ्चालन गर्ने गृहकार्य गरिरहेको छ। कतिपय मन्त्रालय, कार्यालयमा सरसफाइको काम चलिरहेको छ।

आगजनीबाट मन्त्रालयमा क्षति पुगे पनि सरसफाइ र केही आवश्यक सामग्री जडान गरेर सेवा दिन सकिने मन्त्रालय र कार्यालयहरूलाई जति सके, चाँडै सेवा सुचारु गर्न मुख्यमन्त्री कमलबहादुर शाहले निर्देशन दिएका छन्।

मुख्यमन्त्रीको निर्देशन अनुसार सामाजिक विकास मन्त्रालयले कामकाज थाल्ने तयारी गरिरहेको छ । मन्त्रालयमा आगजनी, तोडफोड गरिएको थियो।

सामाजिक विकास मन्त्रालयअन्तर्गतका अस्पताल, स्वास्थ्य संस्थाले आफ्नो सेवा दिइरहेको सामाजिक विकास मन्त्री मेघराज खड्काले बताए। उनले सरसफाइ, मर्मत गरेर मन्त्रालयको कामकाज पनि सकेसम्म चाँडै सुरु गर्ने उल्लेख गरेका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode