जेन्जी आन्दोलनको ‘साइड इफेक्ट’, युएईले भिषा नदिएपछि आईसिसीसँग क्यानको गुहार

धनगढी : संयुक्त अरब इमिरेट्स (युएई)को भिषा नपाएपछि नेपाल क्रिेकट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)सँग गुहार मागेको छ। नेपाल र वेष्ट इन्डिजबीच तीन अन्तर्राष्ट्रिय टी–२० आई शृंखला युएईमा हुँदैछ।
क्यानले युएई जाने टिमलाई बिहीबार बिदाई गरेको थियो। तर, बुधबारबाटै खेलाडीको भिषा लगाएपनि शुक्रबार रातिसम्म खेलाडी तथा पदाधिकारीको भिषा नआएको प्रवक्ता छुम्बी लामाले जानकारी गराए।
‘सामान्ययता एक दुई दिनमै युएईको भिषा आउने गर्दथ्यो। तर, हामीले अझै पाएका छैनौं।’ लामाले भने।
भदौं २३ र २४ जेन जी आन्दोलनपछि युएईले नेपालको भिषामा कडाई गरेको छ। भिषा अस्थायीरुपमा बन्द गरिएको छ। जसका कारण नेपाली टिम समयमै युएई जानबाट रोकिएको छ। क्यान प्रवक्ता लामाले भिषाको लागि आईसिसीसँग सहकार्य भइरहेको र भिषा लागेसँगै टिम युएई जान तयार भएको पनि बताएका छन्।
‘सिधै भिषा नआएपछि दुबई क्रिकेट र आईसिसी दुबैसँग सहकार्य गरिरहेका छौं। भिषा आएपछि टिम जान्छ। अब, आउँछ भन्नेमा क्यान आशावादी छ,’ लामाले भने, ‘हामीसँग अझै ५–६ दिन बाँकी छ। यसमा आशावादी हौं।’
शृंखला सेप्टेम्बर २७ देखि ३० सम्म शारजाहँ क्रिकेट मैदानमा हुनेछ। नेपालले यो शृंखलालाई ओमानमा आयोजना हुने आइसिसी टी–२० विश्वकप एसिया छनोटको तयारीका रूपमा लिएको छ।
नेपाल रोहितकुमार पौडेल र वेस्ट इन्डिज अकिल होसेनको कप्तानीमा मैदान उत्रिनेछन्। नेपालको लागि यो ऐतिहासिक सिरिज समेत हो।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया