पश्चिम सेती जलविद्युत् परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गरिँदै

डडेल्धुरा: चार दशकदेखि सपना देखाइरहेको पश्चिम सेती जलविद्युत् परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गरिँदै छ। ८०० मेगावाट क्षमताको परिश्चम सेती परियोजनाको प्रभावित क्षेत्रका स्थानीयहरुलाई इआइएका लागि सूचना दिन आग्रहसमेत गरिएका्े छ ।
भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडको परशामर्शदाता रहेको जेड कन्सल्ट प्रालीले इआइएका लागी प्रभावित क्षेत्रका स्थानीयहरुलाई सूचना उपलब्ध गराउन आग्रह गरेको हो । इआइए अध्ययन गर्नेक्रममा सामाजिक प्रभावसम्बन्धी सर्वेक्षण कार्य (घर जग्गाको विवरण सङ्कलन कार्यसहित ) गत भदौ २२ गतेदेखि प्रारम्भ गरिएको जेड कन्सल्टका सुपरिवेक्षक दिनेशचन्द्र जोशीले जानकारी दिनुभयो ।
यस परियोजना अन्तर्गत आयोजना क्षेत्रभित्र पर्ने प्रभावित हुनसक्ने घर तथा जग्गा धनीलाई घर, जग्गा धनी पूर्जासहित जानकारी गराउन सूचना आह्वान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा ४ र ५ प्रभवित क्षेत्र हो । यसैगरी बैतडीको सिगास गाउँपालिका वडा ५, ६ र ७, डोटीको आदर्श गाउँपालिका वडा ३, ५, ६, सायल गाउँपालिकाको वडा १ रहेका छन्।
यस्तै बझाङको केदारस्यु गाउँपालिका वडा नं. १, २ र बित्थडचिर गाउँपालिकाको वडा ९ प्रभावित क्षेत्र हो । चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको आयोजना सरकारले २०७८ चैतबाटै एनएचपीसीलाई दिन गृहकार्य गरिरहेको थियो । अष्ट्रेलियन कम्पनी स्मेक र चिनियाँ कम्पनी थ्री गर्जेजेले समेत बनाउन नसकेको आयोजना भारतीय सरकारी कम्पनीले बनाउने आधार देखिएकाले यस्तो निर्णय भएको बोर्डले जनाएको थियो ।
चिनियाँ कम्पनी थ्री गर्जेजले १३ भदौ २०७५ मा भएको अन्तिम वार्तामा क्षमता घटाएर पनि पश्चिम सेती आयोजना बनाउन अस्वीकार गरेको थियो । बोर्डले परियोजनाको क्षमता ७५० बाट घटाएर ६२० मेगावाटमा झार्ने र अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने प्रस्ताव गरेको थियो ।
तर, बाँधस्थल प्रस्तावित स्थानको भूगर्भ, उचाइ र प्रभावितको पुनःस्थापना लगायतको कारण देखाएर थ्री गर्जेज पश्चिम सेतीबाट बाहिरिएको थियो । पुनर्बास लगायतका धेरै विषयका कारण परियोजना वित्तीय रुपमा सम्भाव्य नरहेको उसले बताएको थियो । २५ वर्षअघि अष्ट्रेलियाको स्मेक कम्पनीले पनि पश्चिम सेती निर्माणको जिम्मा लिएको थियो । तर, १७ वर्षसम्म १० पटकसम्म इजाजतपत्र नवीकरण गर्दा पनि काम अगाडि नबढेपछि सरकारले इजाजत रद्द गरेको थियो ।
त्यसपछि सन् २०१२ मा यो आयोजना थ्री गर्जेजलाई हात परेको थियो । तर, थ्री गर्जेजले पनि काम अगाडि नबढाएपछि लगानी बोर्डले पश्चिम सेतीलाई कसरी सम्भाव्य बनाउने भन्नेबारे अध्ययन गरेको थियो । जसले एसआर–६ परियोजना पनि दिने हो पश्चिम सेती बन्ने निष्कर्ष निकालेको थियो । पश्चिम सेतीभन्दा केही कम क्षमता अर्थात् ४५० मेगावाटका जलाशययुक्त आयोजना हो ।
पश्चिमसेतीमा बुढीगङ्गा मिसिने स्थानभन्दा केही तल एसआर–६ आयोजना बनाउन प्रस्ताव गरिएको छ । यो परियोजना डोटी र अछाम जिल्लामा पर्छ । दिपायल–गौगुडा ग्रामीणमार्ग परियोजना पहुँचमार्गको नजिक पर्छ । जापानी सहयोग नियोग (जाइका) ले गरेको अध्ययनअनुसार यो परियोजना ६५२ मेगावाटसम्म बन्न सक्छ । यसका लागि २०७ मिटर अग्लो बाँध बाँध्नुपर्छ । यसको क्षमता आधा घटाउने हो भने २२८ मेगावाट बिजुली उत्पादन हुनसक्छ ।
साथै पश्चिम सेती र एसआर ६ परियोजना एकै विकासकर्ताले बनाउँदा पानी थुन्ने, विद्युत् निकाल्ने र पानी छाड्ने समयको व्यवस्थापन गर्दा ४५० मेगावाटमा र पश्चिम सेतीलाई ७५० मेगावाटमै बनाउन सकिने बोर्डको दाबी छ । एसआर–६ मा १.५ मिटर हेडरेस सुरुङमार्ग बनाएर बिजुली उत्पादन गर्न सकिन्छ । खुलास्थानमा पावरहाउस बनाउन सकिने लगानी लगानी बोर्डले जनाएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया