देउवा दम्पत्तीको स्वास्थ्य सुधारोन्मुख, आन्तरिक व्यवस्थापनका लागि सेनासँग मागे समय

धनगढी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वास्थ्य सुधारोन्मुख रहेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेतले सभापति देउवा र निवर्तमान परराष्ट्रमन्त्री राणाको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिए।
उनी भन्छन्, ‘उनीहरु हामीसँग सुरक्षित छन्। र दुवै जनाको स्वास्थ्य सुधारोन्मुख छ।’
प्रवक्ता बस्नेतले देउवा दम्पतीले आफ्नो आन्तरिक व्यवस्थापनका लागि समय मागेको जानकारी दिए।
‘परिस्थिति सबै राम्रो छ। उनीहरूले हामीसँग आन्तरिक व्यवस्थापनका लागि समय माग्नु भएको छ। व्यवस्थापन भएपछि उनीहरू यहाँबाट जान्छन्,’ उनले भने।
मङ्गलबार भएको जेनजी प्रदर्शनका क्रममा उहाँहरूमाथि आक्रमण हुँदा देउवा दम्पती घाइते भएका थिए।
भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीले उहाँहरुमाथि आक्रमण गरेका थिए।
देउवा निवास बूढानीलकण्ठ पुगेका प्रदर्शनकारीले घरमा आगजनी गरेर कुटपिट गर्दै घरबाट निकालेका थिए। प्रदर्शनकारीले कुटपिट गर्न थालेपछि उनीहरुलाई नेपाली सेनाले सुरक्षित स्थानमा लगेको हो। अहिलेसम्म देउवा दम्पती सेनाको सुरक्षामा उपचाररत छन्।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
प्रतिक्रिया