अत्तरियाको उग्रतारा सुधार गृहमा एक युवकको मृत्यु

धनगढी– कैलालीमा सुधार गृहमा राखिएका एक युवकको मृत्यु भएको छ।
गोदावरी नगरपालिकाको अत्तरियामा रहेको उग्रतारा सुधार गृहमा राखिएका डोटीको जोरायल गाउँपालिका–२ का २८ वर्षीय सागर मल्लको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले मल्लको गएराति उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए।
उनकाअनुसार मानसिक स्वास्थमा समस्या रहेका मल्ललाई चार महिनाअघि सुधार गृहमा राखिएको थियो।
औषध खाएर साँझ ७ बजे निदाएका उनले गएराति १० बजेतिर पेट दुःख्यो भनेको बुझिएको चन्दले बताए। केहीबेरमा निदाएका भनिएका उनी राति दुई बजेतिर शौचालय गएका थिए।
शौचालयबाट धेरै बेरसम्म नआएका उनी अचेत अवस्थामा भेटिएपछि उपचारका लागि पद्मा अस्पताल लगिएको थियोे।
साढे ३ बजे पद्मा अस्पताल पुगाइएपनि अस्पतालले उपचार गर्न नसक्ने भन्दै सेती प्रादेशिक अस्पताल पठाएको थियोे।
मल्लको उपचारका क्रममा सेतीमै मृत्यु भएको थियो। अहिले उनको शव प्रादेशिक अस्पतालमै राखिएको छ।
मृतकका आफन्तले घटना शंकास्पद रहेकाले निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्। उनीहरूले मल्लको हत्या भएको आशंका गरेका छन्।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया