पुनर्निर्माणमा लाग्न मुख्यमन्त्री शाहको आग्रह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा एकजुट भएर अगाडि बढ्न सबैलाई आग्रह गरेका छन्।
आन्दोलनकारीको आगजनीबाट ध्वस्त भएका भौतिक संरचनाको मङ्गलबार अनुगमनपछि उनले एकजुट भएर पुनर्निर्माणमा अगाडि बढ्न आग्रह गरेका हुन्।
यो विषम परिस्थितिमा सबै सरकारी कार्यालयको सेवा छिटोभन्दा छिटो सञ्चालनका लागि आफ्नो संयन्त्रलाई यसअघि नै परिचालन गरेको जनाउँदै उनले भने, “अनुगमनका क्रममा पनि सकेसम्म छिटोभन्दा छिटो जनतालाई सेवा प्रवाह गर्न निर्देशन दिएको छु।”
मुख्यमन्त्री शाहले धेरै कार्यालयमा सेवा प्रवाहको प्रक्रिया अगाडि बढिसकेको र सुरु हुन नसकेका थप सेवा सुचारु गर्ने सन्दर्भमा पनि कार्यालयहरूले तयारी गरिरहेका पाइएको बताए।
उनले आगजनी र तोडफोड भएको संरचना दुईरचार दिनभित्रै सरसफाइ गरेर सेवा दिनका लागि आफूले सबै मन्त्री, सचिव र कार्यालय प्रमुखलाई निर्देशन दिएको उल्लेख गरे।
मुख्यमन्त्रीले प्रदेश संरचना अन्तर्गतका मन्त्रालय, कार्यालय र सङ्घमातहतका २५ वटा सरकारी कार्यालयको अनुगमन गर्दै भएको क्षतिका बारेमा जानकारी लिए।
उनले जनताको अत्यावश्यकीय सेवा प्रवाह हुने मन्त्रालय र कार्यालयलाई सकेसम्म चाँडै सेवा सुचारु गर्न निर्देशन दिए।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया