एसीसी टी-२० एशिया कप : भारतले पाकिस्तानलाई सात विकेटले हरायो

काठमाडाैँ: एसीसी टी-२० एशिया कपको छैटौं खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति खेलिएको यस खेलमा भारतविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा जितका लागि १२८ रनको लक्ष्य राखेको थियो।
भारतले यो लक्ष्य १५.५ ओभरमा मात्र तीन विकेट गुमाउँदै पूरा गर्यो। भारतका कप्तान सूर्यकुमार यादव ३७ बलमा ५ चौका र १ छक्कासहित ४७ तथा शिबम दुबे १० रनमा अविजित रहे।
भारतका ओपनर अभिषेक शर्मा १३ बलमा ४ चौका र २ छक्कासहित ३१, शुभमन गिल १० र तिलक बर्मा ३१ रनमा आउट भए। तिलकले ३१ बलमा २ चौका र १ छक्का हाने।
पार्टटाइम स्पिनर सैम अयुबले गिललाई स्टम्पिङ, अभिषेक शर्मालाई क्याच आउट र तिलक बर्मालाई बोल्ड आउट गरेका थिए। पाकिस्तानका सैम अयुबले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए।
टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। पाकिस्तानका ओपनर सहिबजादा फहरानले ४४ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए।
शाहिन शाह अफ्रिदीले १६ बलमा ४ छक्कासहित अविजित ३३ रन बनाए भने फखर जमानले १५ बलमा ३ चौकासहित १७ रन जोडेका थिए।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया