मंगलसैनका मेयर बोहराको चुनौती : “मेरो सम्पत्ति छानबिन होस् ”, अरुमा छ हिम्मत ?

अछाम । देशभर फैलिएको भ्रष्टाचार, अनियमितता र शासनप्रणालीविरुद्ध नेपालमा उठेको जेन–जी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेपछि हाल अन्तरिम सरकारको नेतृत्व पूर्वमुख्य न्यायाधीश सुशीला कार्कीले गरिरहेकी छन् । लगातार २७ घण्टासम्म चलेको आन्दोलनले तत्कालीन सरकारलाई घुँडा टेक्न बाध्य पार्दै अन्तरिम सरकार गठन र निर्वाचनको मिति घोषणा गर्नेसम्मको उपलब्धि हासिल गरेको छ ।
आन्दोलनकारीको निशाना राजनीतिक दलका शीर्ष नेता, प्रधानमन्त्री–पूर्वप्रधानमन्त्रीदेखि मन्त्री र स्थानीय तहसम्मका जनप्रतिनिधि बने । अछाममा समेत विभिन्न पालिकामा जेन–जी आन्दोलनको समर्थनमा प्रदर्शन भयो । यही क्रममा स्थानीय सरकार र जनप्रतिनिधिको जीवनशैली तथा सम्पत्ति छानबिनको माग तीव्र बन्दै गएको छ ।
यसैबीच, मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले सम्पत्ति छानबिनको विषयलाई लिएर खुलेआम चुनौती दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीदेखि वडा अध्यक्षसम्म सम्पत्ति छानबिन गर्न माग गर्दै भनेका छन् ।
“स्रोत नखुलेको सम्पत्ति जफत गरी राज्यकोषमा जम्मा गर्नुपर्छ । युवाको निगरानीमा पुराना नेताहरुलाई पनि तिजाप्मा चोपेर जिम्मेवारी दिनुपर्छ । सम्पत्ति छानबिन मै बाट गरियोस् – मेरा बाबु, मेरो, र मेरा छोराछोरीको सम्पत्ति छानबिन होस्, म तयार छु ।”
आफ्ना परिवारको सम्पत्ति समेत छानबिन गर्न तयार रहेको बोहराको घोषणाले अछामका अन्य पालिकाका जनप्रतिनिधिलाई ठूलो चुनौती दिएको छ । उनको भनाइपछि अहिले प्रश्न उठेको छ – “अछामका अन्य जनप्रतिनिधिमा पनि यो भन्न सक्ने हिम्मत छ ?”
स्थानीयदेखि केन्द्रीय तहका नेताहरूले जनताको सेवक बन्ने बाचा गर्दै पद सम्हाले पनि पदमा पुगेसंगै उनीहरुका धनगढी र काठमाडौंजस्ता शहरमा कसरी घर–घडेरी जोडिए भन्ने विषय नागरिकस्तरमा चर्चा र खोजीको विषय बनेको छ ।
सार्वजनिक मञ्चमा पारदर्शिताको पक्षमा रहेको र भ्रष्टाचारमा संलग्न नभएको दाबी गर्ने जनप्रतिनिधिले अब प्रमाणित गर्ने अवसर आएको छ । युवाको विश्वास जित्न चाहने नेताले यसबेला पारदर्शिता देखाउन नसके सम्भावित राजनीतिक संकट भोग्नुपर्नेमा दुइमत छैन ।
पदबाट लाभ उठाएर निजी सम्पत्ति जोड्ने प्रचलन रोक्न अब सबै तहमा गम्भीर पहल गर्नुपर्ने आवाज सवैतिर उठिरहेको छ ।
बोहराले सामाजिक संजाल फेसबुकमा चुनौती दिए पछि पक्ष र विपक्षमा प्रतिक्रिया पनि आइरहेका छन्। अहिलेसम्म आफ्नो परिवारको सम्पत्ति सार्वजनिक नगरेका बोहराले लोकप्रियताको लागि स्टन्ट मान्नेहरुको पनि कमी छैन ।
किनकि सार्वजनिक सम्पत्ति दोहन गर्नेमा अग्रपंक्तिमा रहेको उनका आलोचकहरु बताउछन् । उनले आफ्नो बारिमा फलेका काक्रा , चिचिन्डा र सोइटा ( बोडी ) सम्देला पुर्याउन नगरपालिकाको गाडी दुरुपयोग गरेको दावी गर्नेहरुले यो घोषणालाई नाटक भनेर व्याख्या पनि गरिरहेका छन्।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया