दलगत रस्साकस्सीमा अल्झिएको सरस्वती मावि : हेडसर टेक बहादुरलाई अध्यक्ष टेक बहादुरको टेको ?

जयगढ अछाम । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारस्थित सरस्वती माध्यमिक विद्यालय दुई महिनाभन्दा बढी समयदेखि व्यवस्थापन समिति विहिन बनेको छ । असार ११ गते विद्यालयको अभिभावक भेलाबाट कुलबहादुर शेट्टी नेतृत्वको समिति विघटन गरी नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिएको भए पनि राजनीतिक हस्तक्षेपका कारण हालसम्म अध्यक्ष चयन हुन नसक्दा समिति विहिन भएको हो ।
विद्यालय व्यवस्थापन समिति नौ सदस्यीय हुने कानुनी व्यवस्था भए पनि हालसम्म महिला सदस्य पूजा रेग्मी, सरस्वती कुँवर र लक्ष्मी टमट्टा मात्र सर्वसम्मत चयन भएका छन्। बाँकी तीन खुला सदस्य चयन हुन नसक्दा अध्यक्ष चयन प्रक्रिया अड्किएको छ । विद्यालय व्यवस्थापन समिति ९ सदस्यीय हुने कानुनी व्यवस्था अन्तर्गत महिला दलित प्रतिनिधि ३ जना , खुला सदस्य ३ जना र बिद्यालयको प्रधानाध्यापक,शिक्षक प्रतिनिधि र सम्बन्धित वडाको अध्यक्ष पदेन सदस्य हुने व्यवस्था रहेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्षका पदका लागी विभिन्न राजनीतिक दलका समेत गरि १८ जना बढीले दाबी प्रस्तुत गरेका छन् । नेपाली काँग्रेस समर्थकहरूमध्येबाट प्रकाश ताम्राकार,खेमराज साउँद,उपेन्द्र खड्का,कुल बहादुर शेट्टीले दाबी गर्दा नेकपा एमाले समर्थकबाट राम बहादुर साउँद,तर्क ठकुल्ला,केशर बि.क.वसन्त स्वारले दाबी पेश गरेका छन् ।
नेकपा माओवादी केन्द्र समर्थक रहेका ज्योति साउँद,कृष्ण साउँद र मातृभूमि जागरण अभियानमा जोडिएका टंक रेग्मीले पनि अध्यक्षमा दाबी गर्दै आएका छन् । व्यवस्थापन समितिको सदस्यका रुपमा सर्वसम्मत चयन भएका ३ वटै महिला आफू समर्थक रहेको नेकपा एकीकृत समाजवादीको दाबी छ ।
स्रोतका अनुसार गाउँपालिका अध्यक्ष टेकबहादुर साउँद प्रकाश ताम्राकारलाई अध्यक्ष बनाउन चाहन्छन् । तर काँग्रेसभित्रैका उपेन्द्र खड्काले ताम्राकारलाई ‘चैते काँग्रेस’ भन्दै अस्वीकार गर्ने गरेको चिया चौतारीमा चर्चा हुने गरेको छ ।
यता नेकपा एमाले भएर पनि काँग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदसंग निकट मानिने राम बहादुर साउँदले पनि आफूलाई अध्यक्षमा सघाउन भन्दै गाउँपालिका अध्यक्ष साउँदलाई दिउसोको चियाखाजादेखी साँझको रमझमसम्मको व्यवस्था गर्दै आएको एमालेजनले नै बताउने गरेका छन् ।
गएको असार ११ गतेको अभिभावक भेलामा अध्यक्षका दाबेदारको सूचि तयार भएकोमा असार १९ गते दाबेदारहरू बिच सहमतिको प्रयास असफल भएपश्चात् निर्वाचन प्रकृया अगाडी बढाउने लिखित निर्णय नै भएको अध्यक्षका दाबेदार टंक रेग्मीले बताएका छन् । कुनै पनि सार्वजनिक विद्यालय नेतृत्व विहीन भई अन्यौल भएको खण्डमा गाउँ शिक्षा समितिले निर्णय गरि ६ महिनाका लागी विद्यालय व्यवस्थापन समिति अध्यक्ष तोक्ने अधिकार छ ।
सरस्वती माद्यामिक विद्यालयमा प्रदेश सरकारबाट घेरा पर्खालका नाममा २५ लाख योजना आएका कारण पनि विद्यालय व्यवस्थापन समितिका नाममा बखेडा भईरहेको टिप्पणी हुने गरेको छ ।सूत्रका अनुसार दीपावलीसम्म समिति चयनको विषय अन्यौलमा राखेर परपर धकेल्दै २५ लाखको बजेट कार्यान्वयन गर्ने गरि गाउँ शिक्षा समितिका तर्फबाट टिके अध्यक्ष पठाउने गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको रणनीति रहेको छ ।
विद्यालय व्यवस्थापन समिति नेतृत्वबिहिन भएको अवस्थामा नेतृत्व चयनका लागि आवश्यक सहजीकरण गर्नु विद्यालयका प्रधानाध्यापकको दायीत्व तथा नैतिक जिम्मेवारी अन्तर्गत पर्दछ ।विद्यालयका प्रधानाध्यापक टेकबहादुर कुँवरले भने नेतृत्व चयनका लागि सहजीकरण गर्न पहल नगरेको दाबेदारहरूले आरोप लगाएका छन् । प्रधानाध्यापक कुँवरले बैठक बोलाउन आग्रह गर्दा “म कसको बाउरु लागु ?” भन्ने गैरजिम्मेवारपूर्ण जवाफ फर्काएको दाबी समेत गरिएको छ । कुँवरको यस्तै गैरजिम्मेवारपूर्ण जवाफका कारण यसअघि वडा सदस्य पूर्ण शेट्टीले प्रधानाध्यापक कुँवरको पदबाट राजीनामा समेत मागेका थिए । उनको मागको भने कुनै सुनुवाइ भएन ।
उसो त टेक बहादुर कुँवर भन्दा सिनियर शिक्षक विद्यालयमा कार्यरत हुँदाहुँदै कुँवर बिद्यालयको प्रधानाध्यापक हुन नपर्ने हो । कुँवर मावि तृतीय श्रेणीका हुन् भने विद्यालयमा कार्यरत अर्का शिक्षक प्रमानन्द जोशी मावि द्वितीय श्रेणीका छन् । सिनियरका हिसाबले जोशी स्वतः प्रधानाध्यापक हुनुपर्ने हो । तथापि आफूले भने अनुसार परिचालन गर्न सहज हुने भएका कारण टेक बहादुर कुँवरलाई प्रधानाध्यापक राखिराख्न गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले टेको दिँदै आएको आरोप छ ।
हाल बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष रहेका टेकबहादुर साउँद पनि एक कार्यकाल सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष रहिसकेका थिए। तर पटक–पटक व्यवस्थापन समिति अध्यक्ष बन्ने दौडमा असफल हुँदै आएका उनको अनुभवलाई स्थानीय स्तरमा प्रायः “राष्ट्रपति रामचन्द्र पौडेल १७ पटकसम्म प्रधानमन्त्री बन्न प्रयास गर्दा असफल भएको खिस्सा” सँग तुलना गर्ने गरिन्थ्यो ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, पालिका, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया