Hikmat Acharya
  • २३ भदौ २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

बिहानैदेखि राजधानीमा सुरक्षा सतर्कता, व्यापक सुरक्षाकर्मी तैनाथ


काठमाडौं : सामाजिक सञ्जाल बन्दको विरोधमा आयोजित युवा प्रदर्शनलाई ध्यानमा राखेर राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ। ‘जेन जी’ पुस्ताका नाममा आज राजधानीको माइतीघरकेन्द्रित आन्दोलन आह्वान गरिएको छ।

सामाजिक सञ्जालमार्फत सञ्चालित युवाहरूको भ्रष्टाचार विरोधी अभियानमा केही दिनदेखि सरकारले सामाजिक सञ्जालमा लगाएको रोकको विरोध पनि जोडिएको छ। आज युवाहरुले सडक प्रदर्शनमा उत्रिने तयारी गरेपछि सुरक्षा निकायले सतर्कता अपनाएको हो।

नेपाल प्रहरीको शान्ति सुरक्षा महाशाखा,रानीपोखरीलाई लेखिएको पत्रमा आज बिहान ९ बजेदेखि माइतीघर मण्डलामा भेला,जम्मा भइ र्यालीसहित नयाँ बानेश्वर अल्फा हाउस अगाडि पुगेर विरोध कार्यक्रम गर्ने तथा काठमाडौंका विभिन्न स्थानमा भेला भई विरोध प्रदर्शन गर्ने बुझिन आएकाले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

पत्रमा भनिएको छ, ‘कार्यक्रम अवधिभर त्रुटिरहित ढंगबाट भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सुरक्षा योजनाबमोजिम गर्नुहुन ।’ नेपाल प्रहरीले प्रहरी परिसर मातहतबाट खटिने जनशक्ति बाहेक थप जनशक्ति तालुक कार्यालयबाट खटाउने व्यवस्थासमेत मिलाएको छ।

उता,सशस्त्र प्रहरी बलले पनि ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ भने गुप्तचर जनशक्ति पनि व्यापक परिचालन गरिएको बताइन्छ । केही दिनदेखि ‘नेपो बेबी’ भन्दै शुरू भएको डिजिटल विरोध आज भौतिक रुपमा हुन लागेको हो।

उक्त विरोध कार्यक्रमलाई समर्थन गर्दै प्रदर्शनका लागि अनुमति लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हिजो साँझसम्म आधा दर्जन समूहले निवेदन दिएका छन्। सामाजिक सञ्जालमा हिंसालाई प्रेरित गर्ने किसिमका सामग्रीहरू प्रसार भएपछि प्रहरीले शान्तिपूर्ण सभा,कार्यक्रमका लागि आग्रह गरेको छ।

यता असंगठित युवाहरूको विभिन्न समूहले आह्वान गरेको सडक आन्दोलनलाई दुर्गा प्रसाईं, रास्वपालगायतले समर्थन गरेका छन्। त्यसैगरी विभिन्न राजनीतिक दलका छायाँमा परेका नेता,सोसल मिडिया इन्फ्लुएन्सर र कन्टेन्ट क्रिएटरहरूले पनि समर्थन र प्रचार गरेको देखिन्छ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode