Hikmat Acharya
  • २३ भदौ २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

आउनै छोडे चिठीपत्र


अछाम, भदौ २२ गते । कुनै समय थियो, झोलामा चिठीपत्र बोकेर गाउँघरमा हुलाकी अर्थात् हल्कारा आउने गर्थे। प्रविधिको द्रुत गतिको विकासले महत्वपूर्ण खबर आदानप्रदान गर्न चिठीपत्र पठाउने चलन अब भने हराइसकेको छ।
पहिले गाउँ गाउँमा हुलाक कार्यालय थिए । अहिले अछाम जिल्लामा १२ वटा इलाका हुलाक कार्यालय र ५९ वटा अतिरिक्त हुलाक कार्यालय छन्। जिल्ला सदरमुकाम मङ्गलसेनमा जिल्ला हुलाक कार्यालय र साँफेबगरमा एक हुलाक काउन्टर छ।

व्यक्तिका चिठीपत्र आदानप्रदान हुन छाडे पनि डाँक सेवा जस्ता काममा अहिले जिल्ला हुलाक कार्यालय र इलाका हुलाक कार्यालयले काम गर्ने गरेका छन् । कहिलेकाहीँ सरकारी कार्यालयका चिठीपत्र मात्रै पठाउने गरेका छन्। पहिले डाँक सेवा अन्तर्गत अछामबाट पूर्वतर्फ हेटौँडा, काठमाडौँ, झापा, नेपालगन्ज, बर्दिया, चितवन, दाङ, कोहलपुर, भैरहवा, इटहरी, मोरङ, बिर्तामोड तथा पोखरासम्मको सेवा दिने गरेको थियो।

यस्तै पश्चिमतर्फ कञ्चनपुर, महेन्द्रनगर, अत्तरिया तथा धनगढीसम्मको सेवा दिने गरेको भए पनि सरकारी कार्यालयका चिठीपत्र, अदालतका कागजात र विद्यालयका चिठीपत्र मात्रै हुने गरेको जिल्ला हुलाक कार्यालय अछामका कार्यालय प्रमुख रगुवीर रोक्काले बताए।

उनले व्यक्तिगत चिठीपत्र नआउने गरेको र सरकारी कार्यालयका चिठीपत्र मात्रै जाने गरेको जनाए। विगतमा विभिन्न कागजात, सरसामान आउने र पठाउने गरेको भए पनि सञ्चार क्षेत्रको विकाससँगै चिठीपत्र पठाउन कम भएको बताए।

कार्यालय प्रमुख रोक्काले भने, ‘सादा र रजिस्ट्री गरेर मुस्किलले औसतमा दैनिक ५० वटा चिठी मात्रै आउने गरेका छन् र चिठीपत्र नआए पनि डाँक सेवा भने अनिवार्य पठाउनुपर्ने हुन्छ।’

जिल्ला हुलाक कार्यालय अछामका कर्मचारी हिजोआज रित्तो डाँक पठाउँदै आएका छन्। हुलाक कार्यालयमा सरकारीबाहेक चिठीपत्र कसैले नपठाउने गरेका कारण कर्मचारीले रित्तो भए पनि डाँक पठाउने गरेका हुन्। यहाँबाट सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा केन्द्र अर्थात् काठमाडौँसमेत हुलाक डाँक जाने भए पनि चिठीपत्र कसैले नपठाउँदा प्रायः रित्तो भए पनि डाँक जाने गरेको रोक्काको भनाइ छ।

उनले भने, ‘इमेल, इन्टरनेट, मोबाइल तथा विभिन्न सञ्चार सेवामा पहुँच बढ्दै जाँदा हुलाक सेवाको पहुँच घट्दै गएको र चिठीपत्र नहुँदा रित्तो डाँक भए पनि पठाउने गरेका छौँ ’ टेलिफोन, इन्टरनेट र फ्याक्सलगायत मोबाइल फोन सर्वसुलभ भएपछि हुलाकबाट आफन्तलाई चिठीपत्र पठाउने प्रचलन विगतको भन्दा धेरै मात्रामा हराउँदै गएको हो।

पछिल्लो समय हुलाक कार्यालय टिकट बिक्री गर्न मात्र बढी प्रभावकारी देखिएका छन्। मोबाइल, इमेल, इन्टरनेटलगायतका विभिन्न प्रविधिको विकासका कारण पनि चिठीपत्र आदानप्रदानमा कमी आएको देखिन्छ। जिल्ला हुलाक कार्यालय अछाममा आर्थिक वर्ष २०८१र८२ मा छ हजार ४८६ रजिस्ट्रीपत्र आयात र निर्यात भएको कार्यालयको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode