डडेधुरामा झाडीले घेर्यो तरकारी संकलन केन्द्र

डडेलधुरा : डडेधुराको अमरगढी नगरपालिका–१ दहमा बनाइएको ‘तरकारी संकलन केन्द्र’ पाँच वर्षदेखि प्रयोगविहीन बनेको छ । प्रयोगमा नआएपछि केन्द्र जीर्ण बन्दै गएको छ भने अहिले झाडी र बुट्यानले घेरेको छ ।
२०७५ सालमा वडा कार्यालयको तीन लाख बजेटमा निर्माण भएको केन्द्र किसानले उत्पादन गरेका तरकारी तथा अन्य कृषिजन्य उपज संकलन गरी बिक्री गर्न बनाइएको थियो । सुरुमा केही किसानले मात्रै प्रयोगमा ल्याए पनि २०७७ सालको बर्खामा आएको पहिरोले क्षति गरेपछि भवन प्रयोगमै आउन सकेको छैन ।
‘कृषिजन्य उपज संकलनका लागि भवन निर्माण गरिएको हो, तर पहिरोले क्षति गरेपछि पुनर्निर्माण हुन सकेन,’ अमरगढी–१ का वडाध्यक्ष लोकबहादुर ऐरले भने ।
उनले उक्त तरकारी संकलन केन्द्र पुनः सञ्चालनका लागि किसानले चासो नदेखाएको बताए ।
‘केही किसानले यसबाट लाभ लिइरहेका थिए । पहिरोले क्षति भएपछि पुनःनिर्माण गरिएन । फेरि यसको आवश्यकता महसुस भएको छ । अब बजेट छुट्याएर यसलाई प्रयोगमा ल्याउने योजना छ,’ उनले भने ।
यहाँका दह, तडिवटा, भेटा, घोलुना लगायत छिमेकी गाउँमा एक सयभन्दा बढी व्यावसायिक किसान छन् । यहाँ आलु, काउली, बन्दागोभी, मुला, रायो, टमाटरलगायत तरकारी प्रशस्त मात्रामा उत्पादन हुने भएकाले संकलन केन्द्र सञ्चालनमा आए किसानलाई ठूलो फाइदा हुने दहका स्थानीय गणेशबहादुर ऐर बताउँछन् ।
उनका अनुसार केन्द्रमा तरकारी संकलन गरेर बिक्री गर्दा किसान बिचौलियाको मारमा पर्दैनन् । ‘हामीले खेतबारीबाट तरकारी केन्द्रमा राख्ने र सिधै व्यापारीलाई बेच्दा राम्रो मूल्य पाइन्छ,’ उनले भने, ‘यो प्रयोगमा आए हामीलाई फाइदा हुन्छ ।’
अहिले केन्द्र प्रयोगमा नआउँदा किसानले स्थानीय व्यापारीमार्फत तरकारी बिक्री गर्ने गरेका छन् । जसका कारण अपेक्षित मुनाफा लिन किसानलाई समस्या परेको छ । भेटाका किसान रुद्रबहादुर ऐरका अनुसार पहिरोले भवनमा क्षति गरेपछि मर्मतमा पहल हुन सकेको छैन ।
खडेली बाबा बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष समेत रहेका उनले भने, ‘कृषकको उत्पादन ल्याएर यहीँ संकलन गर्ने र व्यापारीलाई बिक्री गर्ने उद्देश्यले केन्द्र बनाइएको हो । बजेट अभावमा अहिले मर्मत सम्भव भएको छैन ।’
उनका अनुसार केही किसानले मात्रै यो संकलन केन्द्र प्रयोग गरेका थिए । अन्यले तरकारी स्थानीय बजारमै खपत गर्ने गरेका छन् । तर, यहाँबाट तराईका जिल्लामा तरकारी बिक्री गर्ने किसानका लागि यो केन्द्र आवश्यक देखिन्छ ।
‘स्थानीय सरकारले बजेट हालेर पुनर्निर्माण र सञ्चालनमा ल्याउने योजना बनाउनु आवश्यक छ,’ उनले थपे । स्थानीय कृषकको उत्पादन वृद्धि र बजारसम्म सहज पहुँचका लागि संकलन केन्द्रको पुनर्निर्माण र नियमित सञ्चालन हुनु आव्शयक रहेको किसानहरु बताउँछन् ।
स्थानीय सरकारले थोरै बजेटमा सञ्चालन गरेका यस्ता निर्माणकार्य बेवारिस बन्दा पुनःनिर्माणमा ध्यान दिएको देखिँदैन । यसले कृषक उत्पादनको उचित मूल्य र बजार पहुँचमा पनि असर पार्ने भएकाले मर्मतमा तत्काल पहल गर्नु आवश्यक रहेको किसानहरुको भनाइ छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया