Hikmat Acharya
  • २१ भदौ २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

दोधारा–चाँदनी सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छ: गृहमन्त्री लेखक


कञ्चनपुर : गृहमन्त्री रमेश लेखकले दोधारा–चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला शिलान्यास हुने बताएका छन् ।

आज नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. ३ प्रशिक्षण विभागले दोधारा–चाँदनीमा आयोजना गरेको प्रशिक्षणमा उनले प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणको संयुक्त रुपमा शिलान्यास गर्ने बताएका हुन् ।

‘दोधारा–चाँदनीमा देशकै ठूलो सुक्खा बन्दरगाह बन्छ,’ उनले भने, ‘यसको शिलान्यास दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम छ ।’ उनले दोधारा–चाँदनीमा पछिल्लो समय विकासले तीव्रता पाएको बताए ।

कुनैबेला आकाशमा बादल देख्नेबित्तिकै बाढीको त्रासमा बस्नुपर्ने दोधारा–चाँदनीको महाकाली र जोगबुढा नदीमा बाँध बनेपछि सुरक्षति बनेको उनको भनाइ छ ।

‘महाकाली नदीमा देशकै ठूलो पक्की पुल बनेकाले यहाँ अस्पताल र क्याम्पस बनेका छन्’, गृहमन्त्री लेखकले भने, ‘जोगबुढा नदीमा बाँकी रहेका स्थानमा तटबन्ध बनाएर यहाँका नागरिकलाई बाढीबाट सुरक्षित गरिन्छ, त्यसका लागि बजेट विनियोजन भइसकेको छ ।’

उनले मुलुकमा संविधान निर्माणका लागि नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै संविधानको रक्षा पनि कांग्रेसले गर्नुपर्ने धारणा राखे ।

गणतान्त्रिक शासन व्यवस्था सुदृढ गर्न कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । वर्तमान सरकारले नीतिगत र कानुनी सुधार गरेको उल्लेख गर्दै उनले यसमा कर्मचारीको ठूलो सहयोग रहेको बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode