Hikmat Acharya
  • १८ भदौ २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

पूर्वप्रधानमन्त्री शेरबहादुरको गाउँ जाने सडक कालोपत्रे हुन सकेन


डडेल्धुरा : पाँच पटकसम्म प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिका गन्यापधुरामा अझैसम्म पनि प्रमुख सडकहरू कालोपत्रे हुन नसकेका छन्।

शुक्रबार गन्यापधुरा गाउँपालिकाले गत आर्थिक वर्ष २०८१र८२ मा सम्पन्न गरेका योजना तथा बजेटको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीय धर्मराज भट्टले पालिकाको अवस्था देखाउँदै, ‘पूर्वप्रधानमन्त्रीकै पालिका पुग्ने सडक कहिले कालोपत्रे हुन्छ ?’ भन्दै प्रश्न गरे।

उनी लगायत अन्य सहभागीहरूले समेत सडक मर्मतसम्भार र कालोपत्रे कार्य हुन नसक्दा दैनिक यात्रामा जोखिम खेप्नु परेको गुनासो गरे।

गाउँपालिका मुकाम गणेशपुर पुग्ने विभिन्न विकल्पका सडकहरू निर्माण भए पनि अहिलेसम्म एउटासमेत कालोपत्रे हुन नसकेको स्थानीयवासीको आरोप छ। यस कारण उनीहरूलाई महँगो भाडा तिर्नुपर्ने, यात्रामा समस्या भोग्नुपर्ने र सडकको धुलो–हिलोमा सास्ती खेप्नुपर्ने अवस्था छ।

जवाफमा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले सडक कालोपत्रेको माग सबैको रहेको स्वीकार गर्दै भातकाडा–रुवाखोला–रेल सडक कालोपत्रे गर्ने काम सुरू भएको बताए।

उनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा मात्र नौ करोड रुपैयाँ विनियोजन भइसकेको छ। तर, सडक विभागले ठेक्का लगाएको सडकमा निर्माण व्यवसायीले समयमै काम नगरेपछि स्थानीयवासी निराश हुनुपरेको उनको भनाइ छ।

कार्कीका अनुसार रडुवा–बडाल र कैलपालमाण्डौ–बडाल सडकका लागि पनि यस वर्ष तीन–तीन करोड रुपैयाँ छुट्टाइएको छ।

सडक डिभिजन कार्यालय डोटीले भातकाडा–बडाल–रेल सडक खण्डको साढे चार किलोमिटर भाग कालोपत्रे गर्न आव २०७८/७९ मा नै ठेक्का सम्झौता गरेको थियो। नक जोशी मालिका निर्माण कम्पनीसँग साढे नौ करोड बराबरको ठेक्का सम्झौता भए पनि हालसम्म काम पूरा भएको छैन।

सम्झौता अनुसार २६ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि अझै काम रोकिएको अवस्थामा छ। पूर्वप्रधानमन्त्रीको गाउँमै सडक कालोपत्रे हुन नसक्दा स्थानीयवासीले दीर्घकालीन राजनीतिक नेतृत्वमाथि नै प्रश्न उठाउन थालेका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode