Hikmat Acharya
  • १८ भदौ २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा सेनेटरी प्याड गोदाममा थन्कियो


बैतडी :  बैतडीका १० वटा स्थानीय तहले हरेक वर्ष एक करोड रुपियाँ बराबरका सेनेटरी प्याड खरिद गर्ने भए पनि वितरण नगरी गोदाममा थन्काएर राख्ने गरेको पाइएको छ ।

सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ को दफा ५ मा पालिकाले खरिद गरेका सेनेटरी प्याड त्रैमासिक, चौमासिक र अर्धवार्षिक रूपमा वितरण गर्नुपर्ने उल्लेख भए पनि अधिकांश पालिकाले वर्षको अन्त्यमा बजेट सक्नकै लागि खरिद गरेर गोदाममा थन्याउने गरेको पाइएको छ ।

दोगडाकेदार गाउँपालिकाले आव २०८०÷८१ मा सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका छात्रा विद्यार्थीका लागि नौ लाख ९९ हजार ५२० रुपियाँका १२ हजार ३४० थान सेनेटरी प्याड वर्षको अन्तिममा खरिद गरी गोदामा मौज्दात राखी विद्यार्थीलाई वितरण नगरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

त्यसै गरी मेलौली नगरपालिकाले सात लाख ९९ हजार ८१४ रुपियाँ बराबरका २० हजार थान सेनेटरी प्याड खरिद गरेर गोदाममा थन्क्याएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । शिवनाथ गाउँपलिकाले नौ लाख ४० हजार मूल्य बराबरका सेनेटरी प्याड खरिद गरे पनि स्फेसिफिकेसन अनुसार भएन भएको परीक्षण नगरिएको महालेखाले टिप्पणी गरेको छ ।

पुर्चौडी नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत तीन हजार १३५ जना छात्रा विद्यार्थीका लागि आर्थिक वर्षको अन्तिममा नौ लाख ९७ हजार मूल्य बराबका ११ हजार ७७० थान सेनेटरी प्याड खरिद गरेको महालेखाको प्रतिवेदनमा जनाइएको छ ।

सेनेटरी प्याडसम्बन्धी गुनासो बढ्न थालेपछि स्थानीय तहले सोबापतको रकम छात्राकै हातमा पर्ने गरी नगदै वितरण गर्ने गरेर विद्यालयको खातामा रकम निकास गर्न सुझाव दिएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका कार्यालय प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode