Hikmat Acharya
  • १९ भदौ २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

काँग्रेस–एमाले भागबण्डा नजुट्दा सुदूरपश्चिमका अस्पताल समितिविहीन


धनगढी: सुदूरपश्चिम प्रदेशका नौ वटा अस्पताल लामो समयदेखि व्यवस्थापन समितिविहीन भएका छन्।

प्रदेशमा सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच भागबण्डामा सहमति नजुट्दा समितिमा पदाधिकारी नियुक्ति अड्किएको हो।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दुई प्रादेशिकसहित आठ वटा अस्पताल गत फागुनदेखि समितिविहीन छन् भने डोटी अस्पताल चैतदेखि समितिविहीन अवस्थामा छ।

समितिविहीनताले अस्पतालको नीतिगत निर्णयदेखि आन्तरिक तथा बाह्य व्यवस्थापनमा समस्या सिर्जना भएको छ।

यसअघि २०७८ साल फागुन २९ गते सरकारले तीन वर्षका लागि राजनीतिक नियुक्ति गरेको थियो।

सेती प्रादेशिक अस्पतालमा नरबहादुर शाह, महाकाली प्रादेशिकमा कृष्णानन्द भट्ट, टीकापुरमा झपटबहादुर सोडारी, अछाममा शिव बोगटी, बाजुरामा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी, बैतडीमा पार्वती भट्ट र डोटीमा धनबहादुर नेपालीलाई अध्यक्ष नियुक्त गरिएको थियो। तर कार्यकाल सकिएसँगै हाल सबै पद खाली भएका छन्।

अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. चेतराज जोशीका अनुसार सेती, महाकाली र टीकापुर अस्पतालमा मन्त्रिपरिषद्को निर्णयबाट अध्यक्ष नियुक्त हुने र अन्यमा सामाजिक विकास मन्त्रीस्तरीय निर्णयबाट पदाधिकारी तोक्ने व्यवस्था छ।

०८१ फागुनमा बसेको राजनीतिक संयन्त्रको बैठकले तत्काल रिक्त पदमा नियुक्त गर्ने सहमति गरे पनि कार्यान्वयन भएको छैन।

सेती प्रादेशिक अस्पतालमा काँग्रेस र महाकाली प्रादेशिक अस्पतालमा एमालेले अध्यक्ष पाउनेबारे छलफल भए पनि निर्णयमा नपुगेकाले समस्या झन् दीर्घकालीन बनेको जनाइएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode