कैलाली कारागार घटनापछि घाइते कैदीबन्दीको व्यवस्थापन चुनौतीपूर्ण, अझै अस्पतालमा

धनगढी: कैलाली कारागारमा साउन २३ गते भएको हिंसात्मक घटनापछि घाइते कैदीबन्दीको व्यवस्थापनमा समस्या देखिएको छ।
उपचारपछि डिस्चार्ज भएका कैदीबन्दीलाई समेत कारागारमा पुनः लैजान कठिनाइ भएकाले अस्पतालमै राखिएको छ।
कारागार प्रशासनले घाइते कैदीबन्दीलाई कारागारभित्र लैजाँदा पुनः स्थिति बिग्रन सक्ने आकलन गरेको छ।
यसअघि कैदीबन्दीहरूको इच्छा अनुसार स्थानान्तरण गर्ने तयारी भए पनि ठूलो संख्यामा स्थानान्तरण सहज नभएको जनाइएको छ।
उक्त घटनामा एकजना कैदीबन्दीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए।
घाइतेमध्ये हालसम्म सात जनाको स्थानान्तरण गरिएको छ। कारागार प्रमुख प्रकाश ढुंगानाका अनुसार काठमाडौंमा उपचाररत तीनजना कैदीबन्दीलाई त्यहीँको कारागारमा, कञ्चनपुरमा तीनजना र नवलपरासीमा एकजनालाई स्थानान्तरण गरिएको छ।
बाँकी कैदीबन्दीलाई भने सेती प्रादेशिक अस्पतालमै राखिएको छ। अस्पतालका अनुसार दुई जनाबाहेक अन्य सबैको उपचार सकिएको छ।
प्रमुख ढुंगानाले सुरक्षा चुनौतीका कारण डिस्चार्ज भएका कैदीबन्दीलाई कारागारमा लैजान नसकिएको बताए।
उनका अनुसार स्थानान्तरणका लागि २० जनाले निवेदन दिएका छन्। जसमा १४ जनालाई कारागार व्यवस्थापन विभागले स्वीकृति प्रदान गरेको छ।
यसैबीच, घटनाको छानबिनका लागि गठित समितिले संलग्न व्यक्तिको पहिचान गर्न विशेषज्ञसहितको विस्तृत छानबिन समिति गठन गर्नुपर्ने सुझाव दिएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया