नगरको राजस्व गाैरीगंगाका मेयरको पेट्रोल पम्पको खातामा !

धनगढी : कैलालीको गौरीगङ्गा नगरपालिकामा नगरप्रमुख देवीदत्त कँडेलले ठेकेदारसँग मिलेमतो गरी नगरपालिकाको राजस्व आफ्नै निजी पेट्रोल पम्पको खातामा जम्मा गराएको पाइएको छ।
नगरपालिकाको वडा नं. ४ स्थित जोगनिया तालको ठेक्काबाट उठेको करिब पाँच लाख रुपैयाँ दुई वर्षअघि नगरप्रमुख कँडेलकै मनकामना पेट्रोल पम्पको खातामा जम्मा भएको खुल्न आएको हो।
नगरप्रमुख कँडेलले भने आफ्नो पेट्रोल पम्प र ठेकेदारबीच पहिलेदेखि नै कारोबार हुने गरेकाले रकम त्यही खातामा जम्मा भएको हुनसक्ने बताउँदै राजस्वको पैसा व्यक्तिगत हिसाबमा हाल्न नलगाएको दाबी गरे।
तर वडा नं. ९ का वडाध्यक्ष राजकुमार थारूले कार्यपालिकामा विषय उठेपछि नगरप्रमुखले गल्ती स्वीकार गरी रकम फिर्ता गर्ने प्रतिबद्धता जनाइसकेको जानकारी दिए।
ठेक्का लिएका मोहन गिरीले पनि रकम पेट्रोल पम्पमा जम्मा गरेको स्वीकार गर्दै सो रकम पछि फिर्ता लिएको बताए। तर पालिकाले मागे राजस्व बुझाउन तयार रहेको उहाँको भनाइ छ।
यसबीच राजस्व शाखाका प्रमुख चित्रराज जोशीले ठेकेदारलाई दुई पटक पत्राचार गर्दा पनि रकम नजम्हाएको जानकारी दिए।
स्थानीयले भने नगरको राजस्व निजी पम्पमा जम्मा हुनु गम्भीर विषय भएको भन्दै छानबिन समिति गठनको माग गरेका छन्।
गौरीगङ्गा नगरपालिकामा जोगनिया बाहेक भैँसवा, वनताल, लोटेहुवा, रारा, त्रिवेणी र चम्रैया तालसमेत ठेक्कामा दिइएका छन् तर सम्बन्धित अभिलेख नगरपालिकासँग नरहेको जनाइएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया