सुदूरपश्चिमका मन्त्रीमाथि हत्या आरोप, काँग्रेसले छानबिन माग्दा सचिवालय बचाउमा
खगेन्द्रको काउन्टर जवाफ

धनगढी : दलित अभियन्ता खगेन्द्र सुनारले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालमाथि सामाजिक सञ्जालमार्फत गम्भीर आरोप लगाएका छन्।
सुनारले फेसबुकमा मन्त्री पालले बैतडीमा १३ वर्षीय दलित बालक किरण कोलीलाई गाडीले किचेर हत्या गरेको र मृतककी आमालाई धम्की दिएको दाबी गरेका छन।
उनले लेखेका छन्, ‘हिँड्ने साइतमा दलितले बाटो काटेको भन्दै मन्त्री पालले गाडीले किचेर हत्या गरेका छन्। पीडितको आमालाई धम्की दिइएको छ र घटना मिलाउन जबर्जस्ती पाँच लाख रुपैयाँ खातामा हालिएको छ।’
तर, प्रहरीले सुनारको दाबी गलत भएको जनाएको छ। प्रहरीका अनुसार किरण कोलीको मृत्यु करेन्ट लागेर भएको हो।
सुदूरपश्चिम प्रहरी प्रवक्ता एसएसपी प्रकाश राना भाटले बालक कोलीको करेन्ट लागेर मृत्यु भएको पुष्टि गरे।
उनले भने, ‘डिलासैनी गाउँपालिका–३ का १३ वर्षीय किरण कोली साउन १७ गते डिन्नीगाडमा बालुवा सङ्कलन गर्ने क्रममा विद्युत् पोल छोएर करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा उनको मृत्यु भएको हो। कानुनी प्रक्रिया पूरा भएपछि मृतकका बाजेले १८ साउनमा शव बुझेका थिए। हत्या भएको भन्ने दाबी असत्य हो।’
यता, मन्त्री पालको सचिवालयले पनि सुनारको आरोपलाई असत्य र भ्रम फैलाउने खालको भएको भन्दै आपत्ति जनाएको छ।
सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक तथा जातीय सद्भाव खल्बल्याउने उद्देश्यले आधारहीन आरोप लगाइएको हो। मन्त्रीज्यू असार २८ गतेदेखि यता धनगढी र काठमाडौंमै हुनुहुन्छ। घटनाको समयमा उहाँ जिल्लामा नै हुनुहुन्नथ्यो।’
सचिवालयका अनुसार सुनारविरुद्ध साइबर अपराध अन्तर्गत उजुरी दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।
खगेन्द्रको काउन्टर जवाफ
अभियान्ता सुनारले मन्त्री पालले कोलीलाई मारेको दाबी पुन: गरेका छन्।
फेसकमा अर्को स्टाटस राख्दै उनले पैसा हालेको स्कृन सर्ट समेत सेयर गरेका छन्।
उनले लेखेका छन्, ‘बैतडीका किरण कोलीलाई दलित भएकै कारण सुदूरपश्चिमका भौतिक मन्त्री सुरेन्द्रबहादुर पालले नै मारेका हुन्। उनकै कारण बच्चा मृत्यु भएको हो। घटना दबाउन ५ लाख जबरजस्ती खातामा हालेको प्रमाण यहाँ छ।’
उनले आफू गलत भए कारबाही गर्न चुनाैती समेत दिएका छन्।
घटना दबाउने सीडीओ र डीएसपीको पालो भोलि भन्दै उनले मन्त्री पाललाई कारबाही गर्न चेतावनी दिएका छन्।
काँग्रेसले भन्यो : सत्यतथ्य छानबिन गर
बालक कोली मृत्यु प्रकरण शंकास्पद रहेको भन्दै नेपाली काँग्रेस डिलासैनीले सत्यतथ्य छानबिन गर्न माग गरेको छ।
जिल्ला समन्वय समिति, बैतडीलाई पत्र लेख्दै उसले छानबिनको माग गरेको हो।
सभापति जयानन्द जोशीद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ, ‘सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय सुरेन्द्रबहादुर पालको प्रत्यक्ष संरक्षणमा, साउन महिनाको वर्षायाममा चमेलिया नदीबाट जेसीभी र स्काईभेटर मेशिन प्रयोग गरी गैरकानुनी रुपमा बालुवा उत्खनन गरिएको थियो। यस उत्खननका कारण विद्युत् लाइन मुनि बालुवाको थुप्रो जम्मा भई, विद्युत् प्रवाहलाई प्रत्यक्ष जोखिममा पारिएको अवस्थामा किरन कोलीको ज्यान गएको हो। यो दुःखद घटना घटेपछि रातारात बालुवा हटाउने, प्रमाण नष्ट गर्ने, तथा पीडित परिवारलाई आर्थिक प्रलोभन देखाई घटना दबाउने प्रयास भएकोप्रति हाम्रो गहिरो आपत्ति छ। मृतक कोलीकी आमा राजमतिको नाममा, नेकपा एमालेबाट निर्वाचित डिलाशैनी गाउँपालिका-३ का वडाध्यक्ष रघुवीर बोहराको नामबाट बैंकमा पाँच लाख जम्मा गराई, पीडित पक्षलाई त्रसित वातावरणमा राखी न्यायिक प्रक्रिया प्रभावित पार्ने प्रयास भएको र पैसाले न्याय किनबेच गर्ने कार्य लोकतान्त्रिक मूल्य र मान्यतामायिको गम्भीर प्रहार हो, जसलाई कुनै हालतमा स्वीकार गर्न सकिँदैन।’
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया