२४ दिनपछि पनि रेणु चौधरीको हत्यारा अज्ञात, अनुसन्धान निष्कर्षविहीन

धनगढी : धनगढी उपमहानगरपालिका–२, बैयाबेहडीमा २४ दिनअघि भएको एक युवतीको विभत्स हत्या प्रकरणमा हालसम्म पनि प्रहरीले कुनै ठोस उपलब्धि हासिल गर्न सकेको छैन।
हत्या गरिएकी ३० वर्षीया रेणु चौधरी कञ्चनपुरको पुनरवास नगरपालिका–१०, अमरवस्तीकी स्थायी बासिन्दा हुन्।
उनी केही वर्षदेखि धनगढीमा बसेर खानेपानी संस्थानमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिइन्।
असार ९ गते उनी बस्दै आएको कोठाबाट दुर्गन्ध आउन थालेपछि घरबेटीले झ्यालबाट हेर्दा उनको शव फेला परेको थियो।
शव फेला पर्दा कोठा बाहिरबाट ताल्चा लगाइएको थियो, जसले हत्या योजनाबद्ध र सुनियोजित भएको आशंका पैदा गरेको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा केही व्यक्तिहरूलाई निगरानीमा राखेको भए पनि, हालसम्म कुनै पनि अभियुक्त पक्राउ परेका छैनन्।
जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी राजकुमार सिंहका अनुसार, अनुसन्धान जारी रहे पनि अहिलेसम्म हत्यामा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन।
‘हामी फरक कोणबाट अनुसन्धान गरिरहेका छौं,’ डिएसपी सिंहले भने, ‘अहिलेसम्म ठोस प्रमाण हात लागेको छैन।’
पीडितका आफन्तहरूले सुरूदेखि नै घटनालाई गम्भीर रूपमा लिएर निष्पक्ष र प्रभावकारी अनुसन्धानको माग गरेका छन्।
तर २४ दिनसम्म हत्यारा पत्ता नलाग्दा प्रहरी प्रशासनको क्षमता र गम्भीरतामाथि प्रश्न उठ्न थालेको छ।
स्थानीयबासी पनि यस घटनाले त्रसित छन्।
उनीहरू दोषीलाई चाँडोभन्दा चाँडो कानुनी दायरामा ल्याउन माग गरिरहेका छन्।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया