Hikmat Acharya
  • २ साउन २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

सुदूरका छाउगोठ बने मृत्यु कक्ष, ‘कु–संस्कार’ले लियो ८ जनाको ज्यान


बैतडी– सुदूरपश्चिमा संस्कार र धर्मको नाममा जरो गाडेर बसेको एउटा क्रूर परम्पराले पछिल्ला १० वर्षमा आठ निर्दोष महिलाको ज्यान लिएको छ । महिनावारी जस्तो प्राकृतिक प्रक्रिया भएका महिलाहरुलाई ‘अपवित्र’ मान्ने अन्धविश्वासले ८ जना निर्दोश महिला, किशोरी र बालबालिकाले ज्यान गुमाएका छन् ।

यही अनधविश्वासको जालोमा परेर कहिले सर्पको टोकाइ, कहिले निसास्सिएर, कहिले बलात्कार, त कहिले बाघको आक्रमणले उनीहरूको जीवन अन्त्य भएको छ।

सुदूरको कञ्चनपुरदेखि बाजुरासम्म र अछामदेखि कैलालीसम्म, महिलाहरू आज पनि छाउगोठ भन्ने मृत्युकक्षमा बाँच्न बाध्य छन्।

हालै कञ्चनपुरकी २८ वर्षीया कमला आउजी दमाईँको छाउगोठमा सर्पले टोकेर मृत्यु भयो । डरलाग्दो रातमा, कच्ची गोठमा बसेकी कमलालाई विषालु सर्पले टोकेपछि ज्यान गयो । धर्मको डरले उनी गोठ गइन् तर मृत्युबाट भने डराउन पाइनन् ।

यस्तै २०७५ पुस २४ गते बाजुराकी ३५ वर्षीय अम्बा बोहरा आफ्ना दुई नाबालक छोरा १२ वर्षीय सुरेश र नौ वर्षीय रमितसहित आगोले जलेर छाउगोठमै ज्यान गुमाइन् । उनीहरूको चिहान अझै मौन छ, तर हाम्रो समाजको संवेदना अझै मौन छ।

यस्तै २०७६ कात्तिक १५ गते अछामको साँफेबगर नगरपालिका–३, डिग्रेनीकी २२ वर्षीय पार्वती बुढा रावतको गोठभित्र सर्पले टोकेर ज्यान गयो । यस्तै तिमिल्सेनकी ४५ वर्षीय डम्मरा उपाध्याय, गाजरीकी १५ वर्षीय रोशनी तिवारी र तुर्माखाँद गाउँपालिका–३ की २१ वर्षीय गौरी वयक बुढाले निसासिएर गोठमा ज्यान गुमाउनु पर्यो ।

प्रदेशमा २०७० सालभन्दा अगाडि पनि थुप्रै महिलाले छाउगोठमा अकालमै ज्यान गुमाएका छन्।

यस्तै छाउगोठमा बसेको समयमा महिला तथा किशोरीहरु बलात्कारको शिकार पनि भइरहेका छन्।

गत असार ४ गते अछामको पञ्चदेवल विनायक नगरपालिका–२ की १६ वर्षीय किशोरी छाउगोठमा बलात्कृत भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ। यस्तै गएको माघ १४ गते कैलालीको मोहन्याल गाउँपालिका–७, कुइनेकी ४५ वर्षीय सरस्वतीमाथी छाउगोठमा सुतिरहेको अवस्थामा बाघले आक्रमण गरेको प्रहरीले बताएको छ।

महिनावारी महिलाको प्राकृतिक र नियमित मासिक प्रक्रिया हो। तर, महिनावारी भएपछि छुवाछुत र देवीदेवताको डर मान्ने कुसंस्कारका कारण छाउगोठमा महिलाले अकालमै ज्यान गुमाउने क्रम रोकिएको छैन।

मुलुकी अपराधसंहिता ऐन, २०७५ ले छाउपडी कुप्रथालाई बन्देज गरेपछि २०७६ मा प्रदेशभरि प्रहरीले नै छाउगोठ भत्काउने अभियान थालेको थियो। अछाम, बाजुरा, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लामा छाउगोठ भत्काइए पनि फेरि त्यस्ता गोठ बनाइएको छ।

कमला आउजीको मृत्युपछि कञ्चनपुर जिल्लामा प्रशासनले सबै छाउगोठ भत्काउने अभियान चलाउन नौ वटै स्थानीय तहलाई पत्राचार गरेको छ।

यो प्रथा केवल शारीरिक हानि मात्र होइन, यी प्रथाले मानसिक र सामाजिक हानि पनि पुर्याउँछ। महिनावारीको समयमा महिलाहरूलाई घरको मुख्य स्थानबाट बाहिर राख्दा उनीहरूको आत्मसम्मानमा चोट पुग्छ र उनीहरूलाई समाजबाट अलग्गै राखिन्छ। यसले महिलाहरूको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ नै र उनीहरूको सामाजिक सहभागिता कम हुन्छ।

यस प्रथाको अन्त्यका लागि विभिन्न संघसंस्था र अधिकारकर्मीहरूले अभियान चलाए पनि, परम्परागत विश्वास र सामाजिक संरचनाका कारण यो प्रथा अझै पनि कायम छ। यसलाई अन्त्य गर्नका लागि केवल कानूनी कदम मात्र पर्याप्त छैन, सामाजिक चेतना र शिक्षा पनि आवश्यक छ।

समाजका हरेक सदस्यले यो प्रथाको हानिकारक प्रभावलाई बुझ्न आवश्यक छ। महिलाहरूको स्वास्थ्य र सम्मानको रक्षा गर्नका लागि यो प्रथाको अन्त्य गर्न सबैले मिलेर काम गर्नुपर्छ। केवल कानूनी कदमले मात्र परिवर्तन सम्भव छैनस सामाजिक संरचनामा पनि परिवर्तन ल्याउन आवश्यक छ।

यस्ता घटना न त अनौठा रहे, न त अब अज्ञात। प्रदेश प्रहरीको तथ्यांकले मात्रै होइन, प्रत्येक गोठका भित्ताहरूले पनि कराइरहेका छन् , कहिले अन्त्य हुन्छ यो छाउपडी मृत्यु संस्कार ?


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode