देउवाकै कार्यकर्ताका कारण गृहजिल्ला बासी स्वास्थ्य बीमाबाट बञ्चित

धनगढी : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको निर्णयका कारण उनका पार्टी सभापति शेरबहादुर देउवाका छिमेकीहरुसमेत स्वास्थ्य बीमा सेवाबाट बञ्चित भएका छन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले संघीय सरकार मातहतका र विशिष्टिकृत अस्पताललाई स्वास्थ्य बीमा सेवाको प्रथम बिन्दुबाट हटाएर रेफरल अस्पतालका रुपमा मात्र कायम गरेपछि देउवाको गृहजिल्लाका ६ वटा स्थानीय तहका जनता स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् ।
डडेलधुरामा रहेको एकमात्र जिल्ला अस्पतालले आज स्वास्थ्य मन्त्रालयमातहतको स्वास्थ्य बीमा बोर्डको हवाला दिदै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुबाट अस्पतालालाई हटाइएको भन्दै सूचना किालेको छ ।
सूचनाअनुसार १ साउनदेखि डडेलधुरा जिल्ला अस्पताल रेफरल अस्पताल मात्र कायम हुनेछ ।
यो भनेको अन्य अस्पतालबाट रेफर भएर आएका बिरामीलाई मात्र डडेलधुरा अस्पतालले उपचार गर्नेछ । यो सूचनासँगै अब अस्पतालले बीमा गरेका नागरिकको रेफर पत्र नभइ उपचार गर्ने छैन ।
अस्पतालको यो निर्णयसँगै स्वस्थ्यबीमा गरेका डडेलधुरका ३२ हजार भन्दा बढी नागरिक स्वास्थ्य बीमा सेवामार्फत उपचार गर्न पाउने हकबाट बञ्चित भएका छन् ।
सातवटा स्थानीय तह रहेको डडेलधुरामा परशुराम नगरपालिकामा रहेको जोगबुढा अस्पताललाई मात्र बीमा बोर्डले स्वास्थ्य बीमाका लागि प्रथम बिन्दुका रुपमा तोकेको छ ।
बोर्डको यो निर्णय कार्यान्वयनमा आएलगत्तै अब डडेलधुराका अन्य ६ वटा स्थानीय तहका जनताले स्वास्थ्य बीमाको प्रथम बिन्दुको सेवा लिनुपरे परशुराम नगरपालिकामा रहेको जोगबुढा अस्पताल पुग्नुपर्छ ।
सो अस्पतालले रेफर गरिदिएको अवस्थामा मात्र विरामीहरु डडेलधुरा अस्पतालमा उपचारका लागि योग्य हुनेछन् । ड
डेलधुरा मात्र होइन स्वास्थ्य मन्त्रीस्तरीय निर्णय कार्यान्वयनका क्रममा बीमा वोर्डका कारण देशभरकै नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुने अवस्था आएको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले त संघीय सरकारलाई पत्र नै लेखेर विपी कोइराला अस्पताललाई प्रथम सेवा बिन्दुबाट नहटाउन चेतावनी नै दिएका छन् ।
उपत्यकाबाहेक अधिकांश जिल्लामा अहिले पनि संघीय र विशिष्टीकृत अस्पतालबाटै आम नागरिकले स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया