कञ्चनपुरमा अटो–मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, तीन घाइते

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा गएराति भएको सवारी दुर्घटनामा अटो चालकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुपप्र ०१–०११ प ३४३२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको सुपप्र ०१–००१ ह ४६०४ नम्बरको पेट्रोलियम अटो एक आपसमा अंशुवर्मा हुलाकी सडकखण्डमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा अटो चालक पुनर्वास–२, मोतिबस्ती निवासी ५० वर्षीय दान सिंह गम्भीर घाइते भएका थिए। उपचारका लागि उनलाई माया मेट्रो अस्पताल, धनगढी लगिएको थियो।
तर चिकित्सकले राति १२:१० बजे मृत घोषणा गरेका हुन्। घटनामा मोटरसाइकल चालक पुनर्वास–४ ‘घ’ गाउँ निवासी २७ वर्षीय महेन्द्र शाही, अटोमा सवार २८ वर्षीय गोविन्द सिंह तथा मोटरसाइकलमा पछाडि सवार २९ वर्षीय कालु शाही घाइते भएका छन्।
महेन्द्र शाही र गोविन्द सिंहको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने कालु शाहीको उपचार स्थानीय पोलिक्लिनिकमा भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सवारी तीव्र गतिमा रहेकाले ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया