अन्ततः सुदूरपश्चिमका वनमन्त्री चौधरी बर्खास्त

धनगढी :सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरेका छन्।
मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई आज मन्त्रालयबाट हटाउँदै सो जिम्मेवारी आफैँले सम्हाल्ने निर्णय लिएका हुन्। केही दिनअघि मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन आग्रह गरेका थिए।
तर, चौधरीले आफूले कुनै गल्ती नगरेको भन्दै राजीनामा दिन अस्वीकार गर्दै आएका थिए।
मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमका अनुसार मन्त्री चौधरीलाई आजै पदमुक्त गरिएको हो।
यसअघि, आर्थिक अनुशासन तोडेको र बजेटको दुरुपयोगमा संलग्न भएको आरोप लगाउँदै प्रदेशसभा सदस्य अक्कल रावलले चौधरी सहभागी कार्यक्रममा बहिष्कारसमेत गरेका थिए।
पूर्वमन्त्री समेत रहेका रावलले प्रदेश सरकारभित्र उत्तरदायित्वविहीनता र दुरुपयोगको प्रवृत्तिको विरोध गर्दै मन्त्री चौधरीजस्ता पात्रको पदमा निरन्तरता अस्वीकार्य हुने धारणा राखेका थिए।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया