डडेल्धुरामा देउवालाई चुनौती दिएका ढकाल रुपन्देहीबाट चुनाव लड्ने तयारीमा

धनगढी : डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध चुनाव लडेर चर्चा कमाएका सागर ढकाल रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि सक्रिय देखिएका छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थनमा उम्मेदवारी दिने संकेत दिएका छन्।
२०७९ सालको आम निर्वाचनमा ढकालले देउवासँग प्रतिस्पर्धा गर्दै १३,०४२ मत ल्याएर दोस्रो स्थान हासिल गरेका थिए। देउवाले २५,५३४ मत ल्याएर विजयी भएका थिए। ढकालको त्यो प्रदर्शन धेरैको लागि अनपेक्षित मानिएको थियो।
अहिले ढकालले सामाजिक सञ्जालमार्फत रुपन्देही–३ बाट चुनाव लड्ने संकेत दिएका छन्।
उनले लेखेका छन्, “चितवन–२ मा रविको ५४,१७६ र काठमाडौंमा बालेनको ६१,७६७ मत। अब रुपन्देही–३ मा हामीले ६२,००० मत पार गर्नुपर्छ र नेपालको इतिहास रच्नुपर्छ।”
उनको भनाइमा कांग्रेस, एमाले र माओवादी एउटै शक्तिको रूपमा चित्रित गरिएको छ, जसको अन्त्य ‘जनता भर्सेस राणा शासन’ को रूपमा व्याख्या गरिएको छ।
तर, पश्चिम रैबारसँगको कुराकानीमा सागरले चुनाव लड्ने, नलड्ने बारे कुनै पनि निर्णय नलिएको बताए।
रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । यहाँ तराई केन्द्रित ७ दल सम्मिलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार उठाउने निर्णय गरिसकेको छ।
पार्टीबाट उम्मेदवार चयनको जिम्मा संरक्षक रेशम चौरीलाई दिइएको छ। नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र धनिराम चौधरीको नाम चर्चामा छ।
धनिरामले २०७९ को चुनावमा रुपन्देही–१ बाट छविलाल विश्वकर्मा, घनश्याम भुसालसँग प्रतिस्पर्धा गर्दा १५ हजार मत पाएका थिए। राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उपचुनाव हुन लागेको हो।
रुपन्देही–३ को उपनिर्वाचनमा विभिन्न दलबाट उम्मेदवारका आकांक्षीहरूले पार्टीबाट टिकट हात पार्न आफ्नो पक्षमा माहोल बनाउन सक्रिय छन्।
रुपन्देही–३ मा नेपाली कांग्रेसबाट बालकृष्ण खांण, भरत शाह, प्रमोद यादव, रामचन्द्र ढकाल, रमेश खनाल लगायतको चर्चामा छ।
एमालेबाट पोलिटब्युरो सदस्य खिमलाल भट्टराई , व्यवसायी शशि पौडेल, दधिराम न्यौपाने, केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल र सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारी पनि उम्मेदवार बन्ने चर्चा छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया