अमरगढीमा हाकिमको ‘सम्बन्ध’ प्रकरण थाहा पाएपछि योजना अधिकृतको बैतडी सरुवा

धनगढी : अमरगढी नगरपालिकामा कार्यरत दुई जना कर्मचारीबीच कार्यालयमै भएको भनिएको विवादपछि योजना अधिकृत टंकप्रसाद पन्तको काज सरुवा गरिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय र योजना अधिकृत पन्तबीच आइतबार कार्यालय समयमा वादविवाद चुलिएको थियो।
विवादपछि प्रहरीले पन्तलाई केही समय नियन्त्रणमा लिएर पछि छोडेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बरबहादुर बिष्टले जानकारी दिए।
विवादपछि हाकिम उपाध्यायले पन्तको काज फिर्ता पठाएको बुझिएको छ।
नगरपालिका स्रोतका अनुसार पन्तको बैतडीस्थित शिवनाथ गाउँपालिकामा सरुवा गरिएको हो।
उनी त्यहाँ दरबन्दी भए पनि हालसम्म अमरगढीमै कार्यरत थिए।
पन्तले आफू बिदामा रहेका बेला हाकिम उपाध्यायले बोलाएर नगर प्रहरीमार्फत ‘रक्सी सेवन गरेको’ आरोपमा घेराबन्दी गर्दै प्रहरी बोलाएर थुन्न लगाएको दाबी गरेका छन्।
उनले प्रशासकीय प्रमुखको एक महिलासँगको ‘सम्बन्ध बाहिरिने डर’ भएर आफूलाई फसाउने कोसिस गरिएको आरोपसमेत लगाएका छन्।
तर प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने सामान्य कार्यालयसम्बन्धी विषयमा वादविवाद मात्र भएको दाबी गरेका छन्।
‘कार्यालयसँग सम्बन्धित विषयमा सामान्य छलफल थियो, झगडा भन्ने कुरा होइन,’ उनले भने।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया