अमरगढीमा हाकिम र योजना अधिकृतबीच लफडा, के हो विवादको जड ?

धनगढी : अमरगढी नगरपालिकामा दुई कर्मचारीबीच विवाद चुलिँदा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ।
आइतबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय र योजना अधिकृत टंकप्रसाद पन्तबीच कार्यस्थलमै झगडा भएको हो।
झगडापछि योजना अधिकृत पन्तलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छोडेको थियो।
‘म बिदामा थिएँ। एकपटक अफिस आउ काम छ भन्यो। अनि नगरप्रहरी लगाएर रक्सी खाएको छ भनेर घेर्यो। अनि प्रहरी बोलाएर थुन्न लगायो,’ पन्तले भने।
उनले प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको एक महिलासँगको सम्बन्धबारे बाहिरीने डरले आफूलाई फसाउने प्रयास गरिएको आरोपसमेत लगाए।
असारको महिनामा जनताका काम गर्नका लागि नियमित कार्यालय आउन भनेपछि सामान्य वादविवाद मात्र भएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको भनाइ छ।
‘कार्यालयमा लफडा भएको भनेपनि त्यस्तो नभई कार्यालयसँग सम्बन्धित विषयमा कुरा हुँदा सामान्य विवाद भएको हो,’ उनले भने।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बरबहादुर बिष्टका अनुसार नगरपालिकामा झगडा भएको खबर आएपछि पन्तलाई प्रहरीले नियन्त्रणमा लिएर छोडिएको हो।
उनका अनुसार आन्तरिक विवाद भएको र आफैं मिलाउने भनेपछि उनलाई छोडिएको हो।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया