सुदूरपश्चिम प्रदेशको बजेटमाथि आजदेखि छलफल सुरु हुने

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमाथि आजबाट छलफल सुरु हुने भएको छ ।
सभामा बजेट प्रस्तुत भएको तीन सातापछि प्रदेश सभामा बजेटमाथि छलफल सुरु गर्न लागिएको हो ।
बजेटमाथि छलफलका लागि आज दिनको ४ बजे प्रदेश सभाको बैठक बस्ने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।
गत असार १ गते आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आर्थिक वर्ष २०८२–८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपियाँको बजेट प्रस्तुत गरेका थिए ।
सभामा आजदेखि लगातार तीन दिनसम्म बजेटमाथि छलफल गरेर असार १७ गते बजेट पारित गर्ने तयारी छ ।
केही दिन अगाडि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले असार १७ गतेसम्म बजेट पारित गर्ने निर्णय गरेको थियो ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया