मंगलसेनमा आइटी श्रोत शिक्षकका लागि क्षमता विकास तालिम सम्पन्न

अछाम : मंगलसेन नगरपालिकामा आधारभूत तथा माध्यमिक तहमा कार्यरत सूचना प्रविधि (आईटी) श्रोत शिक्षकका लागि दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ।
नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू साथै अछाम बहुमुखी क्याम्पसका आईटी श्रोत शिक्षकलाई लक्षित गर्दै तालिम सञ्चालन गरिएको हो।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत जगत बहादुर रावलका अनुसार विज्ञान तथा प्रविधिको युगमा विद्यालयका सम्पूर्ण विवरण अनलाइन प्रणालीमार्फत प्रविष्ट गर्न आवश्यक भएकाले शिक्षकको क्षमता अभिवृद्धि गर्नु तालिमको मुख्य उद्देश्य हो।
विशेषतः एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (EMIS) मा विद्यालयसम्बन्धी विवरण प्रविष्ट गर्ने विषयमा प्रयोगात्मक रुपमा सिकाइ गरिएको उनले बताए।
तालिम समापन समारोहमा नगर उपप्रमुख संगीता कुमारी रावलले सूचना प्रविधिको प्रयोगमार्फत विद्यालयलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक छ भन्दै शिक्षकलाई प्रेरित गरिन्।
उनले भनिन्, ‘कतिपय विद्यालयको अनुगमन गर्दा सुधार गर्नैपर्ने अवस्था देखिएको छ, अब सुधार नभए कडा निर्णय लिनुपर्ने अवस्था आउन सक्छ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले भने, ‘प्रविधि नबुझ्दा पछाडि परिने र लज्जाबोध हुने अवस्था आउँछ, त्यसैले समयमै सिक्न आवश्यक छ।’
सिकेका कुरा व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै उनले भने, ‘शरीर मात्र होइन, मन समेत लिएर काममा लाग्नुपर्छ। गलत गर्ने शिक्षकलाई कारबाही गर्न पछि परिन्न।’
वडा नं. ८ का अध्यक्ष ज्ञानेन्द्र बोहराले ‘सिकेका कुरालाई व्यवहारमा उतारी विद्यालयको विवरण दुरुस्त राख्न’ शिक्षकहरूलाई आग्रह गरे।
त्यसै अवसरमा २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यालयका शिक्षकलाई सम्मान गरिएको थियो। यशोधरा मावि वाँडा पहिलो, राधा मावि बोगटीगाउँ दोस्रो, षोडषादेवी मावि मंगलसेन तेस्रो र पार्वती मावि छापडाँडा चौथो स्थानमा परेका थिए।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया