Hikmat Acharya
  • १९ साउन २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

अछामको ढकारीमा किशोरी शिखर सम्मेलन सम्पन्न


अछाम : ढकारी गाउँपालिकामा किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिखर सम्मेलन सम्पन्न भएको छ।

ईको हिमाल नेपाल र ढकारी गाउँपालिकाको साझेदारीमा सञ्चालित “लैङ्गिकमैत्री हिमालयन विद्यालय परियोजना” अन्तर्गत ढकारीका १५ विद्यालयको सक्रिय सहभागितामा गठित वेतान कर्णाली किशोरी सञ्जालको आयोजनामा सम्मेलन सम्पन्न भएको हो।

सम्मेलनको प्रमुख अतिथि रहेकी उपाध्यक्ष नेत्रकला शाहीले किशोरी र महिलामाथि हुने अन्याय, हिंसा तथा दुर्व्यवहारका विरुद्ध गाउँपालिका कडा रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले किशोरी तथा महिलाले हिंसा सहेर बस्न नहुने उल्लेख गर्दै उनीहरूलाई आफूमाथि हुने दुर्व्यवहारविरुद्ध बोल्न आह्वान गरिन्।

उनले ढकारीका किशोरी र महिलाका समस्याको समाधानका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

शिखर सम्मेलनमा सडक नाटक, देउडा गीत, न्याउले खेल, कविता र वक्तृत्वकला जस्ता कार्यक्रममार्फत किशोरीहरूले बालविवाह, छाउपडी, छुवाछूत, यौन र प्रजनन स्वास्थ्य जस्ता विषयमा जनचेतनामूलक सन्देश प्रस्तुत गरिएका थिए।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष कर्णबहादुर साउँद, वडा नं. ७ का अध्यक्ष रामबहादुर थापा, विभिन्न वडाका सदस्य, नेकपा माओवादी केन्द्रका नृपबहादुर थापा, एकीकृत समाजवादीका नवराज साउँद, शिक्षक महासंघ अछामका उपाध्यक्ष बद्रीप्रसाद रिमाल, १५ विद्यालयका स्रोत शिक्षक, ईको हिमाल नेपालका कृषि प्राविधिक वीरेन्द्र चन्द, सामाजिक परिचालक हरिश थापा, नेविसंघ केन्द्रीय सदस्य धिरेन्द्र कुँवर र जिल्ला बाल सञ्जालका महासचिव लोचन कुँवर लगायतको उपस्थिति रहेको थियो।

ईको हिमाल नेपालका जिल्ला कार्यक्रम अधिकृत लक्ष्मी केसीले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै किशोरीहरूलाई सशक्त पार्दै उनीहरूमार्फत समाजमा रहेका विकृति र विसङ्गति अन्त्यका लागि संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिइन्।

विद्यालयमा शौचालय, खानेपानी, छात्रवृत्ति लगायतका सेवा प्रवाहका माध्यमबाट गुणस्तरीय शिक्षामा समेत सहयोग भइरहेको बताइन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode